पर्यटन/संस्कृति

भ्यालेन्टाइन डे मा यसरी हुँदैछ वनभोज कार्यक्रम

रत्ननगर, चितवन । प्रेम दिवस (भ्यालेन्टाइन डे)का अवसर पारेर चितवनको सौराहामा आइतबारदेखि शुरु भएको खाना महोत्सव (फुड फेस्टिवल)मा हात्ती वनभोज कार्यक्रम थप गरिएको छ ।

यसपालि पहिलो पटक खाना महोत्सवमा हात्तीको वनभोज कार्यक्रमसमेत समावेश भएको सौराहा खाना महोत्सवका संयोजक कपिल रेग्मीले जानकारी दिए । चितवनको रत्ननगरस्थित सिसवार चौरमा माघ २८ देखि फागुन ३ गतेसम्म १२औँ सौराहा खाना महोत्सव गरिएको छ । यसपटक थप आकर्षणका रुपमा हात्ती वनभोज कार्यक्रम राखिएको हो ।

प्रेम दिवसको दिन फागुन २ गते महोत्सवस्थल सिसवार चौरमा हात्ती पिकनिक हुनेछ । यसअघि सौराहाको हात्ती महोत्सवमा आयोजना गरिँदै आएको हात्ती वनभोज यसपालिबाट सौराहा खाना महोत्सवमा समेत शुरु गर्न लागिएको हो । सो वनभोजमा करिव ६० हात्ती सहभागी गराइने छ । हात्तीलाई उखु, फलफूल, सखर, धानलगायत हात्तीले मनपर्ने खानाहरु राखेर सामूहिक रुपमा खुवाइनेछ ।

रेस्टुरेस्ट एण्ड वार एशोसिएशन नेपाल (रेवान) सौराहा र रेवान महिला समूह चितवनको आयोजनामा भएको यो महोत्सवमा आउने पर्यटकलाई रेवानमा आबद्ध होटलको मेनुमा १५ प्रतिशत छुट दिने निर्णय भएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानी केही प्रतिशत रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गरिनेछ । महोत्सवमा कूल रु ७० लाख आम्दानी हुने र रु ५५ लाख खर्च हुने अनुमान छ । मोहोत्शवमा वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्युजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृ्ंगार प्रतियोगितालगायत कार्यक्रम राखिएको छ ।