पु.समाचार

डा. यादबले पेश गरे राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन परिणाम

काठमाडौं । निर्वाचन आयोगले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ‘राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा आयोगको तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेश गरिएको हो ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपति भण्डारीले निर्वाचन नै हुँदैन कि भन्ने अन्योल रहँदा रहँदै पनि तोकिएकै समयमा स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन निर्वाचन आयोग सफल भएकोमा सन्तोष प्रकट गर्नुहुँदै आयोग परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम प्राप्त भएकाले अब संघीय संसद्का क्रियाकलाप अगाडि बढाउन पनि सहज भएको विचार व्यक्त गरिन् ।

सो अवसरमा माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सम्माननीय राष्ट्रपतिबाट प्राप्त निर्देशन र सहयोगबाट निर्वाचन सम्पन्न गराउन आयोगलाई ठूलो बल पुगेको धारणा राख्नु हुँदै प्रतिनिधि सभाको निर्वाचन परिणामसमेत आयोगले आगामी फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्ने गरी तयारी अगाडि बढाएको अवगत गराए ।

आयोगका अनुसार, उनले २०७४ फागुन ७ गते मनाउन लागिएको ‘दोस्रो मतदाता दिवस’ को अवसरमा आयोजना हुने विशेष समारोहको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु हुनका लागि आयोगको तर्फबाट राष्ट्रपतिलाई औपचारिक पत्रसमेत हस्तान्तरण गरे । समारोहमा माननीय निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए ।