राजनीति

प्रदेश ७ मा सभामुख पदका लागि अर्जुन थापा निबिरोध निर्बाचित

धनगढी । प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापाको मात्र उम्मेदवारी परेको छ । शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिकाबमोजिम सो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश सचिवालयका सचिव मुरारी महतले जानकारी दिए ।

सभामुखमा थापाको उम्मेदवारीको प्रस्तावकमा एमालेका सांसद दीर्घबहादुर सोडारी र समर्थकमा नेकपा (माओवादी केन्द्र)का सांसद् त्रिलोचन भट्ट रहेका थिए । सभामुखमा थापाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएका छन् ।

यद्यपी औपचारिक रुपमा यसको घोषणा भने यही माघ २९ मा हुने प्रदेशसभाको दोस्रो बैठकबाट गरिनेछ ।

निर्वाचन कार्यतालिका अनुसार माघ २८ गते दर्ता भएको प्रस्तावमाथि दाबी विरोध गर्ने र दर्ता भएको उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, र माघ २९ गते बस्ने प्रदेशसभाको बैठकमा दर्ता भएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

एमाले संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रदेशसभा सांसद थापालाई प्रदेश सभाको सभामुखमा उठाउने निर्णय गरेको थियो ।

एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार यो प्रदेशको मुख्य मन्त्रीमा माओवादी केन्द्र, सभामुख पद एमाले र उपसभामुख पद माओवादी केन्द्रले लिनेछन् ।

संसदीय दलको नेताका आकांक्षीः

७ नंं प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा ९एमाले०मा संसदीय दलको नेताका आकाँक्षीमा चारजना देखिएका छन् ।

एमाले कैलालीका अध्यक्ष एवं प्रदेशसभा सांसद दीर्घ सोडारी, बाजुराका प्रकाश शाह, डडेलधुराका पठानसिं बोहरा, कञ्चनपुरका तारालामा तामाङ संसदीय दलको नेताका लागि दौडधुपमा छन् ।

माओवादी केन्द्रले भने प्रदेशको मुख्य मन्त्रीमा प्रस्ताव गरिएका डोटीका सांसद त्रिलोचन भट्टलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

तेस्रो ठूलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि कैलालीबाट निर्वाचित डा रणबहादुर रावल, डडेलधुराबाट निर्वाचित कर्णबहादुर मल्ल र डोटीका भरतबहादुर खड्काको नाम चर्चामा छ ।

कूल ५३ सांसद रहेको यो प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।