शिक्षा

आङ्गिक क्याम्पसलाई समायोजन गर्ने प्रक्रिया सच्याउन माग

काठमाडौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन संघर्ष समितिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा हालै अघि बढाइएको १५ वटा आङ्गिक क्याम्पसलाई समायोजन गर्ने प्रक्रिया गलत भएको भन्दै उक्त प्रक्रिया तत्काल सच्याउनुपर्ने माग गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक मानबहादुर चन्दले विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठले समायोजन प्रक्रियालाई अवरुद्ध गरी १५ वटा क्याम्पसलाई आंगिक प्रक्रियाबाट बन्देज गराई सरकारको मन्त्रिस्तरीय बैठकबाट पारित ४४४ दरबन्दीलाई खारेज गरिदिने धम्की दिएकामा आपत्ति प्रकट गरे ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐनमा भएको व्यवस्थाअनुसार विश्वविद्यालय र क्याम्पसबीच समायोजनसम्बन्धी अन्तिम निर्णय गर्दासम्मका शिक्षक तथा कर्मचारी जो जुन अवस्थामा रहेका छन् सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि विश्वविद्यालयमा समायोजन भइसकेको सिद्धनाथ बहुमुखी क्याम्पसको नजिरअनुसार हुनुपर्ने र सेवा सुविधा तथा शर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजन भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने तीनबुँदे माग समितिले अघि सारेको छ ।

समितिका संयोजक चन्दले पत्रकारलाई दिएको प्रेस वक्तव्यमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिमका १५ वटा सामुदायिक क्याम्पसका लागि मन्त्रिपरिषद्ले स्वीकृत ४४४ वटा शिक्षक कर्मचारी दरबन्दी समायोजनको प्रक्रियाका लागि विश्वविद्यालय सभाबाट संशोधित शिक्षक कर्मचारी नियामावली सुप विश्वविद्यालय ऐनविपरित भएको तथा यसले प्राध्यापकलाई अन्याय भएको छ भनेका छन् ।

समितिले विश्वविद्यालय सभाले गरेको समायोजनसम्बन्धी शिक्षक, कर्मचारी नियमावलीको संशोधित बुँदा आफूहरुको मागबमोजिम संशोधन नभएसम्म विरोधका कार्यक्रम यथावत रहेको पनि जनाएको छ ।