साहित्य

मानार्थ दर्जा दिएकामा खुशी छुः राष्ट्रकवि घिमिरे

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो । लैनचौरस्थित निवासमा रासससँग कुरा गर्दै देशमा अनुशासन रहेको एक मात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

उनले भने, “मुलुकमा शान्ति र स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका खेलेको छ, मलाई दिन लागिएको दर्जाप्रति मलाई सन्तोष लागेको छ ।” सेनाले एक समारोह गरी सो दर्जा प्रदान गर्नेछ ।

यसैबीच राष्ट्रकवि घिमिरेको बहुप्रतिक्षित ‘ऋतम्भरा’ महाकाव्य साझा प्रकाशनले प्रकाशन गर्ने भएको छ । सो प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो कृति प्रकाशनका लागि सम्झौता भएको बताउँदै पुल्चोकस्थित साझा प्रकाशनमा पुनःनिर्माण हुन लागेको भवनमा एक ‘राष्ट्रकवि हल’ बनाउने जानकारी दिए ।