राजनीति

कीर्तिपुरका लोकप्रीय नेता सानुकुमार श्रेष्ठ प्रदेश नम्बर ३ को सभामुख बन्ने यसरी भयो निश्चित

प्रकाश सिलवाल
काठमाडौँ । स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बनेका छन् ।

आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभई पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा (एमाले) नेतृत्वको निर्देशनबमोजिम सभामुखमा उम्मेदवारी दिन राजी भएका हुन् ।

प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा त्यागी र स्वच्छ छविका श्रेष्ठ निर्वाचित भएपछि प्रदेश सदस्यले बधाई दिनेक्रम चलिरहेको छ ।

एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफू मुख्यमन्त्रीकै आकांक्षी भए पनि पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएकाले त्यसलाई शिरोधार्य गरेको बताए ।

श्रेष्ठ प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौँ क्षेत्र २ प्रदेशसभा (क) बाट निर्वाचित भएका हुन् । सो प्रदेश क्षेत्रमा काठमाडौँ महानगरपालिका– ९ र ३२ पर्छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको हो ।

कूल ११० सदस्य रहेको यस प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । श्रेष्ठ एमालेको हाल वैकल्पिक पोलिटब्यूरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुखहुन् । सभामुख भएपछि पार्टीको जिम्मेवारी के गर्ने भन्ने निर्णय भइसकेको छैन ।

विसं २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिएका श्रेष्ठ हाल नरेफाँट (कोटेश्वर) मा बस्छन् । उनले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

विसं २०३४ मा भूमिगत नेकपा (माले) बाट श्रेष्ठ कम्युनिष्ट राजनीतिमा लागेका हुन् । उनी निरन्तर सोही आन्दोलनमा संलग्न छन् । विद्यार्थीकाल र पिपलबोट अनशन (२०३७) मा गरी पटक–पटक जेलनेल भोगेका श्रेष्ठले पञ्चायतकालमा पद्मरत्न तुलाधरको विजय जुलुशमा पञ्चायत पक्षधरको निर्मम कुटाई र यातना खाएका थिए ।

काठमाडौँ जिल्ला विकास समितिका पूर्वसभापति श्रेष्ठ २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रतिस्पर्धी बने । त्यसबेला दुई पार्टीको अघोषित तालमेलका कारण दहालको विपक्षमा प्रचारमा नगई पराजय स्वीकारे ।

आफ्नो क्षेत्रमा श्रेष्ठले एकीकृत वाग्मती सभ्यताको विकास, ग्रिन बेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभताजस्ता मुद्दा उठाएका थिए । यस्तै वाग्मतीमा झोलुङ्गे पुल विस्थापन गरी पुल निर्माण, करिडोर विकास, केवल बस सेवालाई पुनः उठाएका थिए । अब ती काम सभामुखका रुपमा पूरा गर्न पहल गर्ने उनले प्रण गरेका छन् ।