पर्यटन/संस्कृति

नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य

काठमाडौँ । नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलो पटक यहाँ अन्तर्राष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

होटल एशोसिएसन अफ नेपाल (हान)ले रेस्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल, सेफ एशोसिएसन अफ नेपालको सहकार्य तथा नेपाल पर्यटन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा एक दिवसीय प्रशिक्षण आयोजना गरेको हो ।

शुक्रबार सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध सिंगापुरका सेफ डा रिक स्टेफानले पकवान शास्त्र कलाबारे नेपाली सेफलाई प्रशिक्षण दिएको हानका महासचिव विनायक शाहले जानकारी दिए । दुई सय ३३ नेपाली सेफ सहभागी भएको उक्त कार्यक्रममा डा रिकले नेपाली पकवान शास्त्रमा के–कस्ता आयाम थपिएका छन् र संसारका पकवान कलामा भित्रिएका नयाँ प्रविधि र कलालाई कसरी समिश्रण गरेर सेवालाई गुणस्तरीय बनाउने भन्नेबारे अभिमुखीकरण गराएका थिए।

सो अवसरमा अन्तर्राष्ट्रिय सेफ एशोसिएसनका निर्देशकसमेत रहेका डा रिकलाई नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानकोतर्फबाट सद्भावना दूत घोषणा गरिएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र अभियन्ता वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले उनलाई सद्भावनादूतको नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

डा रिक जुन देशमा पुग्छन् त्यहाँ नेपाली खानाको प्रचारप्रसार गर्नेछन् । कार्यक्रममा डा रिकले नेपालको परम्परागत खाना र खाना संस्कृतिले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाली मौलिक खाना अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले अभियन्ता शाक्यको अग्रसरतामा विभिन्न २३ वटा मौलिक खाना छनोट गरी प्रवद्र्धनात्मक अभियान थालिएको छ ।

नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवद्र्धन अभियानलाई प्रशिक्षण र सद्भावनादूतको जिम्मेवारीले महत्वपूर्ण सहयोग पुग्ने महासचिव शाहको भनाइ छ ।