कृषि

मौरीपालनबाट तीस लाख आम्दानी गर्दैछन् पूर्वप्राध्यापक

जीतपुर, कपिलवस्तु । यहाँको वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँघरमा मास्टरको परिचय बनाउनुभएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थालेका हुन् ।

उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आएका छन् । बीस घार मौरीबाट व्यवसाय शुरु गरेका उनले अहिले बढाएर १०० घार पु¥याएका छन् । आफ्नै घर वरिपरिको सात रोपनी क्षेत्रफलमा व्यवसाय गरेका पोख्रेलले अबको केही महिनापछि एक हजार घार मौरी पाल्ने योजना बनाएका छन् ।

एक सय घार मौरीबाट उनले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आएका छन् । मौरीको मह, मैन र गोला गरी वार्षिक रु ३० लाखसम्म आम्दानी हुने गरेको पोख्रेलले बताए । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ८०० छ । त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रतिखाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २५० वटासम्म बिक्री गर्ने गरेको छ । सबै खर्च कटाएर कम्तीमा पनि वार्षिक रु १५ लाख बचत हुने उनको भनाइ छ । उनले उत्पादन गरेको मह प्रदेश नं ५ मा सबै जिल्लाका साथै काठमाडौँमा समेत जाने गरेको छ । मौरीपालनका लागि उनले अहिलेसम्म रु ४० लाख लगानी लगाएका छन् ।

अर्थशास्त्र र समाजशास्त्र विषयबाट डबल डिग्री गरेका पोख्रेलले काममा सानो ठूलो केही नहुने बताउछन् । उनले भने, “मैले दुई विषयमा डिग्री गरेको छु, एकदशक अध्यापन पेशा अँगालेको छु”, “तर मौरीमै भविष्य देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।” पेशा सानो ठूलोभन्दा पनि मिहिनेत ठूलो कुरो हो पोख्रलले भने ।

श्रीमान् श्रीमती मिलेर मौरीपालन व्यवसाय शुरु गर्नुभएका पोख्रेलले आफूबाहेक अन्य पाँच जनालाई समेत रोजगारी दिएका छन् । उनले मौरीको मह बेच्ने ‘अर्जुन बेस्ट हनी’ नामको आफ्नै पसल पनि सञ्चालन गर्दै आएका छन् । पसलबाट पनि राम्रै कारोबार हुने गरेको उनको भनाइ छ । “आफूले उत्पादन गरेको मह मात्र नभई अन्य किसानले उत्पादन गरेको मह खरिद गरी ग्राहकलाई बेच्ने गरेको छु”, उनले भने, “त्यसबाट पनि राम्रो कमाइ भइरहेको छ ।”

देशका लाखौँ युवा विदेशको खाडीमा छन् । उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनुपर्ने उनको भनाइ छ । यो व्यवसाय पढेलेखेकाले पनि गर्न सकिन्छ भनेर आफैँले सुरुआत गरेको पोख्रेलको भनाइ छ । उनले भने, “त्यो काम आफूजस्ता पढेलेखेका बाटै सुरुआत गर्नुपर्ने देखेर मौरीपालन व्यवसाय थालेको हुँ । यस व्यवसायबाट आफूसँगै अरुलाई पनि रोजगारी दिन सकिने उनको तर्क छ ।”

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्षसमेत रहेका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको बताए । अझै पनि मह उत्पादनमा देश आत्मनिर्भर नभएको उनले बताए । अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उनको दाबी छ ।

“मह उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”, उनले भने, “यस क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो छन् ।” उनले प्रत्येक तीन÷तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको पोख्रेलले जानकारी दिए । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उनले बताए ।

जिल्लामा ३०० बढी किसानले व्यावसायिकरुपमा मौरीपालन व्यवसाय गरेको वाणगंगा मौरीपालन सहकारी संस्थाले जनाएको छ । जिल्लामा मौरीपालनका लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फष्टाएको सहकारीका अध्यक्ष लीलापति घिमिरेले बताए ।

यहाँ दलहन, तेलहन प्रशस्तमात्रामा लगाइने भएको कारण मौरीपालनका लागि राम्रो भएको उनले बताए । साथै साल, सिसौ, जंगली रुदिलो पनि राम्रै भएकाले तिनको फूल मौरीका लागि राम्रो आहार हुने किसान बताउँछन् । यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ ।