राजनीति

तीन जनै काँग्रेसका मनोनयन हुने, राष्ट्रियसभा सदस्य मनोनितका लागि निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मेवारी

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रियसमाभा मनोनित हुने तीन सदस्यका बारेमा निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले थप परामर्श गरी सो बारेमा निर्णय गर्न प्रधानन्त्रीलाई जिम्मा दिइएको बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । यसबारे शनिबारसम्म निर्णय बाहिर आउने मन्त्री बस्नेतले बताए।

यही माघ २४ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट नियुक्त हुने तीन सदस्यबारे निर्णय हुन बाँकी छ ।

यसैगरी बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहायकरथीको दर्जा दिने, औद्योगिक बौद्धिकसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, नेपाल र कतारबीच सरकारी तथा उच्च ओहोदाका राहदानीवाहकलाई प्रवेशाज्ञाशुल्क छुट दिने निर्णय गरेको छ ।

त्यसैगरी बुढीगण्डकी आयोजनाको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको, तपस्वी रामबहादुर बम्जनले आफ्नो आश्रयस्थल बनाएको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गर्ने निर्णय आजको बैठकले गरेको मन्त्री बस्नेतले जानकारी दिए।

पत्रकारको जिज्ञासामा मन्त्री बस्नेतले सरकारले जथाभावी रुपमा रकम वितरण नगरेको स्पष्ट गरे ।