राजनीति

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा आचार्य र राईबीच प्रतिष्पर्धा, सभामुख पड्काउन घिमिरेले चाले यस्तो चाल !

काठमाण्डाै । प्रदेश १ मा संसदीय दलको नेताका लागि भीम आचार्य, शेरधन राई र जीवन घिमिरे प्रतिस्पर्धामा छन् । तीमध्ये राई संस्थापन पक्षका हुन् भने आचार्य झलनाथ खनाल तथा जीवन घिमिरे माधव नेपाल पक्षका हुन् । आचार्य र घिमिरेबीच सहमति गराएर एकजना मात्र उम्मेदवार उठाउन नेपाल पक्षका नेताहरुले बिहीबार दिनभर पनि प्रयास गरेका छन् ।

घिमिरेलाई मन्त्रीको आश्वासन दिएर थमाउने प्रयास भइरहेको छ । तर, घिमिरेले भने आफू मुख्यमन्त्रीको दौडमै रहेको दाबी गरेका छन् । उनले निर्वाचनमा जानुपर्ने अवस्था सृजना भएको खण्डमा संसदीय दलको नेताको लागि आफनो पनि उम्मेदवारी मनोनयन गर्ने बताए ।

पछिल्ला समय पार्टीभित्र आचार्यको आलोचना बढेको र माथिल्लो तहका नेताहरु पनि सन्तुष्ट नरहेको अनुमान गर्दै नेपाल समूहको बैकल्पिक नेता बन्ने दाउसहित घिमिरेले उम्मेदवारीको घोषणा गरेका थिए । तर, आचार्यलाई सघाउन सचिव योगेश भट्टराई दुई दिनयता पूर्वमा छन् ।

पोलिटब्यूरो सदस्य एवं मोरङ ३ का सांसद भानुभक्त ढकाल, केन्द्रीय सल्लाहकार कमिटी सदस्य राजेन्द्र गौतमलगायत शेरधन राईलाई संसदीय दलको नेता बनाउने लविङमा लागेका छन् । ढकालले १ नं. प्रदेशमा जातिय कलष्टर मिलाएर लानुपर्ने बताए । अहिले जातीय क्लस्टर मिलाएर लान नसकिएमा अन्याय हुने बताउँदै ढकालले सिनियारिटी भन्दापनि सबैको साझा हुने व्यक्ति संसदीय दलको नेता बनाउने प्रयासमा लागेको बताए ।

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी कुल ५१ सिट जितेको छ । संसदीय दलको नेता चुन्न निर्वाचन भएमा २६ मत आवश्यक पर्छ । विगतमा भएको निकटताको आधारमा प्रदेश संसदमा नेपाल समूहको भारी बहुमत छ ।

नेपाल समूहका २९ जना छन् भने ओली समूहका २० जना देखिएका छन् । २ जनाको समूहगत आबद्धता खुलेको छैन ।

तर, आचार्यको सवालमा माधव नेपाल पक्षका आधा दर्जन सांसद कुनै हालतमा मत नदिने पक्षमा छन् । घिमिरे उम्मेदवार बनिरहँदा मोरङका राजकुमार ओझा, लिलावल्लभ अधिकारीसहित केही सांसदले पनि आचार्यलाई सहजै समर्थन नगर्ने देखिएको छ ।

त्यसबाहेक घिमिरेले अन्य कति मत प्रभावित गर्न सक्छन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । स्पष्ट कुरा के हो भने घिमिरेको समर्थन जता भयो उतैको पल्लाभारी हुने निश्चित देखिएको छ ।

आचार्य समूहले आफ्नो पक्षमा मत दिने बनाएको सूचीमा समानुपातिक सांसदको संख्या बढी छ । तर आचार्यको रुखो छवि र स्थानीय निर्वाचनको समयमा उम्मेदवारलाई टिकट बाँड्दा पैसा लिएको आरोप लागेपछि उनीविरुद्ध यहाँका नेता आक्रोशित थिए ।

पार्टीको प्रदेश संयोजक रहेका आचार्यले प्रदेशसभामा टिकट वितरण गर्दै आफ्नो गुटकालाई प्राथमिकता दिएकोले संख्यात्मक रुपमा संसदीय दलमा पनि नेपालको स्पष्ट बहुमत छ ।

मुख्यमन्त्रीका दावेदार घिमिरे भने राईलाई समर्थन गर्दै सभामुख पद हात पार्ने प्रयासमा रहेको दावी पनि कतिपय एमाले नेताहरुले गरेका छन् । त्यो अवस्था आयो भने राईलाई प्रतिष्पर्धामा बल पुग्नेछ । शेरधन राईको पक्षमा प्रत्यक्ष निर्वाचित सांसद बढी छन् ।