पु.समाचार

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

गाईघाट, उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक रंजीत विक रहेका छन् । प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव भइरहेको बेला आफन्तको विवाहमा पुगेकी गीता विकले छोरा रंजीत विकलाई घरभित्र पलङ्मा सुताएर हल्का सानो सिरक ओढाएर विवाहमा संलग्न भइरहेकी थिइन् ।

तर कसैले नियतवस वा अन्जानमा रंजीतलाई अर्को ठूलो सिरक ओढाइदिएका कारण केही घण्टा पछि गीताले छोरा हेर्दा रंजीत हलचल गर्न नसक्ने अवस्था देखेपछि तत्काल कटारी अस्पताल पु¥याएको प्रहरीले बताएको छ ।

अस्पतालमा बालक रंजीतलाई डाक्टरले चेकजाँच गरेपछि मृत घोषणा गरेको र बालक सिरकले निसास्सिएर मृत्यु भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) मेघराज अधिकारीले बताए ।

मृत बालकको बिहीबार परीक्षण गरेर शव आफन्तलाई बुझाइएको इप्रका कटारीले बताएको छ । यता बालकको मृत्युको कारण कसैले जानीजानी एक सिरकमाथि अर्को ठूलो सिरक बालकलाई ओढाइदिएर निसास्सिने बनाएका कारण नियतवस मृत्यु गराएको भन्दै छानबिन र अनुसन्धान गरी पाउँ भन्दै बालकका हजुरबुबाले प्रहरीमा जाहेरी दिएको प्रहरी प्रमुख अधिकारीले बताए ।

मृतक बालकको बुबा रत्नबहादुर विक भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको पनि प्रहरीले बताएको छ ।
–––