साहित्य

एकैदिनमा रु पाँच लाखको पुस्तक बिक्री

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको पुस्तक प्रदर्शनीमा रु पाँच लाखको पुस्तक बिक्री भएको छ ।
दर्शन, साहित्य, धर्म, राजनीति, समाज विषयवस्तुलगायतमा विभिन्न लेखकले रचना गरी प्रतिष्ठानले प्रकाशन गरेका कृति प्रदर्शनीमा समावेश गरिएको थियो । नोबेल पुरस्कार विजेता ‘रवीन्द्रनाथ ठाकुरका बीस प्रतिनिधि कथा’ एक सय थानभन्दा बढी बिक्री भएको छ । ‘दर्शनावली’ भाग १ देखि ४ सम्मका कृति र ‘पौरष्य दर्शनमा भौतिकवाद’ पनि राम्रै बिक्री भएको छ ।
प्रदर्शनीका संयोजक सुधिर ढुंगेलका अनुसार विसं २०३० देखि हालसम्मका प्रकाशन राखिएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० मूल्यका किताब थिए । तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको शुभजन्मोेत्सवमा प्रकाशित ‘काव्यार्चना’ कृति रु तीनमा पाइएको थियो भने ‘प्रज्ञा नेपाली–अंग्रेजी शब्दकोश’को मूल्य रु एक हजार ४०० निर्धारण गरिएको थियो ।
केही विदेशी लेखकका अनूदित कृतिसमेत प्रदर्शनीमा थिए । विसं २०६७ सम्मका कृतिमा ६० प्रतिशत तथा २०६८ देखि हालसम्मका पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानले केही चित्र समेत सोही प्रदर्शनीमा समावेश गरेको थियो ।
‘राष्ट्रवादः भ्रम कि यथार्थ’ विमोचित

‘नागरिकता बचाऔँ अभियान’का गोविन्द बेल्वासेद्वारा लिखित ‘राष्ट्रवादः भ्रम कि यथार्थ’ पुस्तक आजदेखि बजारमा आएको छ । तीन भागमा विभाजित पुस्तकमा नागरिकसँग राष्ट्रको सम्बन्ध, ‘लेखकका नागरिकतासम्बन्धी अनुभव तथा अनुभूतिका साथै कानूनी जटिलता र व्यावहारिक कठिनाइका विषय समावेश गरिएको छ । अभियानद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार खगेन्द्र संग्रौलाले पुस्तकको विमोचन गर्दै मुलुकको राष्ट्रिय अखण्डता संरक्षणका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।

प्रा कृष्ण बेल्वासे र पूर्वकानून सचिव मोहन बन्जाडेले मुलुकमा दीर्घकालीन असर पार्ने नागरिकता वितरणको प्रक्रियालाई खुकुलो बनाउन नहुने र पाउनुपर्ने नागरिकले सहज रुपमा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने बताए । वन अर्थविद् तथा पूर्वसचिव डा केशव कँडेल, सिँचाइ विशेषज्ञ तथा सहसचिव माधव बेल्वासे र वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, दूरसञ्चार विशेषज्ञ भेषराज कँडेल, नेपाली प्रतीभा प्रतिष्ठान बेलायतका अध्यक्ष दयाकृष्ण राईलगायतले पुस्तकले देशको राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेको टिप्पणी गरे ।

दिनप्रतिदिन मध्यम वर्ग र श्रमजीवी विदेश जाने क्रम जारी रहेको वर्तमान परिस्थितिमा नेपाली परम्परागत सामाजिक मान्यता र संस्कृति समायोजन, विप्रेषणविना देश चल्नै नसक्ने अवस्थामा पुगेका परिप्रेक्ष्यमा परम्परागत राष्ट्रवादको मान्यता वर्तमान सामाजिक स्वरुप, कानून र न्यायका दृष्टिले पनि फरक देखिएको विषयलाई पुस्तकले समेटेको छ ।