पर्यटन/संस्कृति

पर्यटन प्रवर्धनका लागि पाथीभरा पर्यटन महोत्सव

ताप्लेजुङ । ताप्लेजुङलाई १ नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित तीन दिने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथनको आयोजना गरिँदै छ ।

यहाँ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न आगामी फागुन १ देखि ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्तरुपमा महोत्सवको आयोजना गर्न लागेका हुन् । महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्र आफैँमा जैविक विविधता र धार्मिक हिसाबले मुलुककै पर्यटकीय गन्तव्य हो । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको पाथीभरा र कञ्चनजंघा क्षेत्रलाई विश्वमा चिनाउन र पर्यटनमा नयाँ आयाम थप्न महोत्सवले सहयोग पु¥याउने आयोजकको विश्वास छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार प्रत्येक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाख तीर्थयात्री पाथीभरा आउने गर्छन् ।

सदरमुकाम फुङलिङबाट २३ किलोमिटरको दूरीमा रहेको पाथीभरा मन्दिरबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघा, मकालु, ल्होत्से, कुम्भकर्णलगायत हिमाल तथा भारतको सिक्किमका अधिकांश भू–भागको अवलोकन गर्न सकिन्छ । सो क्षेत्रमा रेडपाण्डा, डाँफेजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुंगी र वनस्पति पाइन्छन् भने २८ प्रजातिका लालीगुराँस, १०० भन्दा बढी प्रजातिको सुनाखरीसमेत पाइन्छ । महोत्सवको मुख्य प्रायोजकमा हिमालयन गाइड्स नेपाल टे«क्स एण्ड एक्सपिडीसन र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेका छन् ।