राजनीति

अब बन्ने सरकारले सुशासन र विकासको प्रत्याभूति गराउँछः नेता नेपाल

टीकापुर । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले टीकापुरको विकासका लागि आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको ‘टीकापुर महोत्सव’ को यहाँ आज उद्घाटन गर्दै उनले टीकापुर सुदूरपश्चिमको पर्यटकीय क्षेत्र भएकाले यहाँको विकासका लागि आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

नेता नेपालले पहिले पनि आफू प्रधानमन्त्री हुँदा टीकापुरमा पोलिटेक्निक इन्सिटच्युट, रानी जमरा कुलरिया सिँचाइ आयोजना, सेती लोकमार्गलगायत विकासका पूर्वाधार खडा गरेको उल्लेख गर्दै फेरि पनि यहाँका अधुरा विकास निर्माणका कामलाई सहयोग गर्ने बताए ।

रानी जमरा सिँचाइ आयोजनाबाट प्रत्येक किसानको खेत गरामा पानी पु¥याउन सके किसानको आर्थिक विकासमा सहयोग पुग्ने बताउँदै उनले यहाँको कृषि क्षेत्रको विकास गर्न सिँचाइ र बीउबिजन राज्यले उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

नेता नेपालले कृषिलाई व्यावसायिक गर्ने हो भने यहाँ आम्दानीको स्रोतको अभाव छैन भन्दै ठूलो सम्भावना रहेकोे कृषिजन्य उद्योग स्थापनाका लागि राज्यले सेवासुविधा र प्रोत्साहन उपलब्ध गराउनुपर्ने बताए ।

मुलुकको अर्थतन्त्र बढाउनका लागि कृषिमा लगानी बढाउनुपर्छ, उनले भने – “नेपालको अर्थतन्त्रको जग कृषि नै हो, रोजगारीको सम्भावना पनि कृषि हो, त्यसैले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरेर नेपालको अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले यातायात पूर्वाधार, बिजुलीको विकास र सञ्चारको विकास गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिने बताउँदै अब बन्ने सरकारले जनताको चाहनालाई ध्यानमा राखेर सुशासन र विकासको प्रत्याभूति उपलब्ध गराउने भने ।

कार्यक्रममा प्रदेश सांसद रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल, जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले टीकापुरलाई सुन्दर नगरीका रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गरे ।

संघका अध्यक्ष पर्शुराम चपाईले टीकापुरको विकासका लागि चार सूत्रीय माग नेता नेपाललाई कार्यक्रममा बुझाए ।

‘औद्योगिक, सांस्कृतिक, शौक्षिक कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।