पर्यटन/संस्कृति

सुकिलुम्बा विमानस्थलमा चैतसम्ममा परीक्षण उडान

मंगलबारे, इलाम । इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो ।

सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सबग्रेड कार्य भइरहेको भन्दै उनले लेभल परीक्षण गरेपछि चैत महिना सम्ममा परीक्षण उडान गरिने जानकारी दिए ।

विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भइरहेको धावनमार्गमा उडान परीक्षण गरिने भएको हो । उनले भने, “विमान उड्नका लागि ९० प्रतिशत काम सम्पन्न भइसक्यो, पिच गर्ने र अन्य धेरै काम भने बाँकी नै छन् ।”

सातसय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग यो वर्ष रु एक करोड १५ लाखमा ठेक्का लागेको थियो । माईखोलासम्म नै ढल व्यवस्थापन कार्य रु आठ करोडमा भइरहेको उनले बताए । माईखोलादेखि पहिरोको जोखिम कम गर्न आठओटा क्यास्केड र व्यवस्थित नाली निर्माण भइरहेको छ । नाली बनाउन ठेक्काको म्याद साउनसम्म भएपनि जोखिम रहेको स्थानमा जेठ सम्ममा काम अगाडि बढाइने बताइएको छ ।

यसअघि शुरुमा रु सात करोड लागतमा धावनमार्ग विस्तार कार्य सम्पन्न भएको थियो भने ढल व्यवस्थापन र पहूँच मार्गको काम पनि भएको थियो । यो वर्ष परीक्षण उडानपछि धावनमार्ग र टर्मिनल भवन निर्माण थालिने इन्जिनियर न्यौपानेले जानकारी दिए ।

टर्मिनल भवनका लागि डिजाइन शुरु गरिएको जनाइएको छ । उनका अनुसार धावनमार्ग कालोपत्र गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइनेछ । तीन सय २५ रोपनी क्षेत्रमा फैलिएको विमानस्थल निर्माणका लागि स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण कार्य भएको थियो । यो विमानस्थल निर्माण भएपश्चात् इलाम आसपासका सुदूर पूर्वी पहाडी भेगका स्थानीयलाई सहज हुनेछ ।