देश

नक्कली पत्रकार बनी चोरी गर्ने पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले नक्कली पत्रकार बनी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले गोष्ठी स्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरीका धनमालसहित मंगलबार अपराध महाशाखा काठमाडौँको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

केसीले माघ २० गते कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा बैंकरहरुको तालीम सञ्चालन भइरहेको अवस्थामा खाजा खाने समय पारी ‘फायर साइड डेली’ नामको नक्कली प्रेस कार्ड देखाई तीन महिलाको लेडिज ब्याग, ब्यागभित्र रहेको नगद तथा मोबाइलका साथै नगद रु ३२ हजार ५०० चोरी गरेका थिए । केसीबाट प्रहरीले मोबाइल एक थान, घडी दुई थान, ब्याग एक थान, फायर साइड डेलीको प्रेस कार्ड एक थान, कार्यक्रम लेखिएको डायरी एक थान र सिमकार्ड दुई थान बरामद गरेको छ ।

केसीले विभिन्न कार्यक्रम स्थलमा पुगी उपस्थित मानिसको ब्याग तथा ब्यागभित्र भएका ल्यापटपसमेत चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

केसीलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।