साहित्य

समका कृतिमा संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड

काठमाडौँ । नाटककार बालकृष्ण समले सिर्जना गरेको कला, साहित्य र नाटकको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले समको ११६ औँ जन्मजयन्तीको पुण्यतिथिका अवसरमा आज आयोजित स्मृतिसभा तथा सामाज परिवर्तनमा चिसो चुल्हो महाकाव्यको भूमिका विषयक गोष्ठीमा सहभागी वक्ताले उनका कृति लोपोन्मुख बन्दै गएकामा चिन्ता व्यक्त गरेका हुन्।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले समले सामाजिक विभेदको अन्त्यका लागि महत्वपूर्ण निर्वाह गरेको स्मरण गर्दै नेपाली कला, साहित्य र नाटकको क्षेत्रको विकासमा ठूलो योगदान रहेको बताए ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विसं २०११ मा तत्कालीन राजा महेन्द्रको राज्यभिषेकमा समले निर्माण गरेको ‘राजेन्द्र लक्ष्मी’ नाटक निकै अर्थपूर्ण रहेको भएपनि त्यो अहिले कतै पनि उल्लेख नभएका कारण लोप हुने खतरा रहेको बताए ।

उनले लिच्छिवीकाल र मल्लकालमा देशमा नाटकको विकास भएको उल्लेख गर्दै मैथली र नेपाल भाषामा रचिएका नाटकको पनि संरक्षण गर्नुपर्नेमा जोड दिए ।

नेपालको सामाजिक रुपान्तरण र ‘चिसो चुल्हो’ महाकाव्यमा कार्यपत्र प्रस्तुत गर्दै डा देवीप्रसाद सुवेदीले देशमा सामाजिक कूरीतिको अन्त्य, न्याय र समानताका लागि समले उक्त महाकाव्य रचना गरेको बताए ।

प्रतिष्ठानका सदस्य–सचिव प्राडा जीवेन्द्रदेव गिरी, शिक्षा परिषद्का सदस्य–सचिव रमा शर्माले उनले कला, साहित्य र नाटकमा योगदान गरेकाले तीनवटै संस्थाको समन्वयमा उनको कृतिको खोज, अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकमा प्रजातान्त्रिक मूल्यमान्यता स्थापना गर्नका लागि उनले तीनवटै विधाबाट भूमिका निर्वाह गरेको बताउँदै उनी कला जगत्को विराट प्रतिभाशाली व्यक्तित्व भएको र उनका कृति प्रवर्धन गर्नुपर्नेमा जोड दिए ।

विसं १९५९ मा जन्मेका समले कविता, निबन्धका साथै करिब दुई दर्जनभन्दा बढी नाटक लेखेका छन् । उनको विसं २०३८ मा निधन भएको थियो ।

यसअघि कमलपोखरीस्थित उनको शालिकमा माल्यार्पण गरिएको थियो । उक्त प्रष्ठिानले गत पुस २७ गतेदेखि आयोजना गरेको पुस्तक प्रदर्शनी बिहीबार सकिने महेश्वर थापाले जानकारी दिए ।