पु.समाचार

प्रदेश ७ माराष्ट्रियसभाको मतदान हुँदै

भीमदत्तनगर । प्रदेश नं ७ मा राष्ट्रियसभा निर्वाचन शुरु भएको छ । डोटीस्थित मुख्य निर्वाचन कार्यालयले आज बिहानदेखि राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा मतदान शुरु भएको जनाएको छ ।

यहाँका सबै जिल्लाबाट मतदान गर्ने प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरप्रमुख र उपप्रमुख मतदानस्थल पुगेका छन् । उनीहरु लामबद्ध भएर मतदान गरिरहेका छन् ।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले आज बेलुकी ४ बजेपछि मतगणना शुरु हुने जानकारी दिँदै बेलुकी ६ बजे नै मतपरिणाम सार्वजनिक भइसक्ने बताए । अहिले डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा मतदान भइरहेको छ । मतदानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

“एकल संक्रमणीय प्रणालीका आधारमा यहाँबाट महिला समूहबाट तीन जना र अन्य समूहबाट तीन जना गरी छ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।” मुख्य निर्वाचन अधिकृत पनेरुले भने– “दलित र अल्पसंख्यक अपांगतर्फ निर्वाचन हुँदैछ ।”

उनले दलिततर्फ र अल्पसंख्यक अपांगतर्फ गरी दुई÷दुई जनाले उम्मेदवारी दिएको जानकारी दिए । निर्वाचन कार्यालयका अनुसार दलिततर्फ नेपाली काँग्रेसबाट सेरीराम पार्टी र नेकपा (एमाले) बाट चक्रप्रसाद स्नेहीले उम्मेदवार दिएका छन् भने अल्पसंख्यक अपांगतर्फ नेपाली काँग्रेसका छत्रराज जोशी र माओवादी केन्द्रका महेशकुमार महराबीच चुनावी प्रतिस्प्रर्धा हुनेछ । प्रदेश नं ७ मा २२९ जना मतदाता रहेका छन् ।