स्वास्थ्य

स्वास्थ्य बीमा गर्न हौसिए सर्वसाधारण

भोजपुर । स्वास्थ्य बीमाप्रति भोजपुरका स्थानीयवासी हौसिएका छन् । छोटो समयमा नै दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराइसकेको बीमा बोर्डका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिए ।

भोजपुरका दुई नगरपालिका र सात गाउँपालिकामा हालसम्म दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराएको तथ्याङ्कमा उल्लेख छ । श्रेष्ठका अनुसार हालसम्म पौवादुम्मा गाउँपालिकाबाट ३५ घरपरिवारका १५६ जनाले स्वास्थ्य बीमा गराएका छन् भने रामप्रसाद गाउँपालिकाका ३९ घरपरिवारका १५१ जनाले बीमा गराएका छन् ।

भोजपुर नगरपालिकाका १२६ घरपरिवारका ७७०, अरुण गाउँपालिकामा ७४ घरपरिवारको २४८ र आमचोक गाउँपालिकामा ३०० जनाले स्वास्थ्य बीमा गराइसकेको बताइएको छ । बीमा गर्नका लागि दर्ता सहयोगी गाउँगाउँमा पुगेका छन् ।

स्वास्थ्य बीमा गराउन यहाँका सर्वसाधारण निकै उत्साहित भएका छन् । स्वास्थ्य बीमा गरिसकेका घरपरिवारले फागुन १ गतेदेखि उपचार सुविधा पाउने भनिएकोे छ । स्वास्थ्य बीमा गर्न भोजपुरमा गत पुस २४ गतेदेखि शुरुआत गरिएको थियो ।