पर्यटन/संस्कृति

नयाँ रेशममार्ग समेट्दै नेपाली र चिनियाँ चित्रकला

कृष्णराज गौतम
काठमाडौँ । नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले आयोजित ‘चुचुरामा पुग्दै’ शीर्षकमा आयोजित प्रदर्शनीले दर्शकको मन जितेको पाइएको छ ।

नेपाल कला परिषद् र ग्वान्जाउ आर्टिस्ट्स एशोसिएशनद्वारा परिषद्को कार्यालय बबरमहलमा आयोजित प्रदर्शनीमा समाजका विभिन्न क्षेत्रका दर्शक पुगेका छन् ।

प्रदर्शनी अवलोकनका लागि बाफलबाट आउनुभएकी जया शाक्यले कुमारीको चित्र असाध्यै मन परेको भावना पोखे। भिक्षु उत्तमले निर्माण गरेको उक्त चित्र आकर्षक भएकाले पनि त्यहाँ पुग्ने दर्शकलाई लोभ्याउने गरेको छ । उनले बनाएका मायादेवीले सुतेर सपना देख्दै गरेको चित्रमा नाग र हात्तीको पनि रुप देख्न पाइन्छ, जसले त्यहाँको वातावरण शान्त र सौम्य देखिएको छ ।

नेपाल–चीन ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाको सहयोग रहेको प्रदर्शनी यही माघ २० देखि २६ गतेसम्म जारी छ । उक्त प्रदर्शनीलाई प्रथम ओबोर चीन–नेपाल लाक्वेर चित्रकला भनेर समेत बुझिन्छ । नेपाली नौ कलाकारले बनाएका ३६ चित्र र ३२ जना चिनियाँ कलाकारले बनाएका ३५ गरी ७१ वटा चित्र त्यहाँ सजाइएको छ ।

प्राचीन रेशममार्ग, शाक्यमुनि बुद्ध, भिक्षु, प्रकृति, पुल, हिमाल, हात्ती र नारीलाई कलाकारले बिम्ब बनाएका कृति प्रदर्शनीमा छन् । तेल कलर तथा वाटर कलरले क्यानाभासमा भू–दृश्य, मूर्त/अमूर्त, अर्धमूर्त चित्र समावेश गरिएको छ ।

नेपालका तर्फबाट न्यू आर्ट सर्कलका अध्यक्ष शङ्करनाथ रिमाल, उपाध्यक्ष नरेशसुन्दर सैँजुलगायत अन्य सदस्यहरु क्रमशः हरिबहादुर खड्का, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, टार्जन साङ्पाङ, किरण मानन्धर र कृष्ण मानन्धरका चित्र समावेश छन् भने केही महिना अगाडि बित्नुभएका कलाकार शान्तकुमार राईको पनि सिर्जना राखिएको छ ।

कलाकार टार्जन साङ्पाङले सिर्जना गरेको कृतिमा मुस्ताङको झारकोट गुम्बाले अर्को आकर्षण थपेको छ । करिब ८०० वर्ष पुरानो उक्त सम्पदाको चित्र वाटर कलरमा बनाइएको छ ।

चिनियाँ कलाकार सु सिङले सिर्जना गरेको पर्यटन व्यवसायी कर्ण शाक्य तथा भिक्षु धर्मगुप्तको चित्रमा जीवन्तता पाइन्छ । त्यस्तै, वु गुइवेनद्वारा सिर्जित घरको छानामाथि हिउँ खसेको चित्र प्रदर्शनीको अर्को विशेषताका रुपमा लिन सकिन्छ ।

दुवै देशका कलाकारले सिर्जना गरेका चित्रले प्रदर्शनीलाई रौनक थपेका छन् भने नेपाल र चीन कला संस्कृतिमा अत्यन्त सम्पन्न मुलुक भएको कुरा उक्त प्रदर्शनीबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

काठमाडौँको बौद्धबाट प्रदर्शनी अवलोकनका लागि आएका नरेश राणाले कला, साहित्य र संस्कृतिले समाजमा भावनात्मक सन्देशलाई सशक्त रुपमा अभिव्यक्त गर्न सहयोग पु¥याउने बताउँदै यस्ता विषयवस्तुले मानिसको मनलाई छुने विचार व्यक्त गरे । विशेष वनस्पतिबाट प्राप्त लाहा (खोटो) प्रयोग गरी बनाइएका चिनियाँ चित्रको परम्परा आठ हजार वर्ष पुरानो मानिन्छ । जुन अहिले विश्वभरि प्रचलनमा आइसकेको छ ।

चित्र प्रदर्शनीका कला निरीक्षक (क्युरेटर)का रूपमा लाक्वेर पेन्टिङ कमिटी अफ गुवाङदोङ आटिस्ट्स एसोसिएसनका अध्यक्ष छिङ सू छन् । नेपाल कला परिषद् र चीन–नेपाल ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाबीच चीनको ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) अवधारणाप्रति सकारात्मक भई दुई देशबीच सांस्कृतिक सञ्चार कायम गर्न आठबुँदे सहमतिसमेत भइसकेको न्यू आर्ट सर्कलका अध्यक्ष रिमालले जानकारी दिए ।

समझदारीअनुसार दुवै संस्था आपसमा निकट रही दुवै देशमा दुई देशका कलाकार र कलाको आदानप्रदान गरिने तथा कला प्रदर्शनी, कला सम्मेलन, कला पुस्तक प्रकाशन आदि नियमित रूपमा गरिनेछ ।