पु.समाचार

शुरु भएन २६ हजार लाभग्राहीको आवास निर्माण

सञ्चिता घिमिरे
ललितपुर । भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन शुरु भने गरेका छैनन् ।

भूकम्पपछिको पुनःनिर्माण परियोजनाका जिल्ला कार्यान्वयन एकाइसँग निजी आवास निर्माणका लागि सम्झौता गर्ने लाभग्राहीमध्ये अझै २५ हजार ८३५ लाभग्राहीले घर बनाउन थालेका छैनन् । जिल्लाभरमा लाभग्राहीको संख्या २७ हजार ७३३ रहेको छ । तीमध्ये एक हजार ८९८ लाभग्राहीले मात्रै दोस्रो किस्ता लिएका छन् ।

लाभग्राहीमध्ये १० प्रतिशतले मात्रै दोस्रो किस्ताबापतको रकम बुझेको एकाइमा कार्यरत सूचना प्रणाली व्यवस्थापन विज्ञ राकेश श्रेष्ठले बताए । उनले भने, “लाभग्राहीमध्ये धेरैले दोस्रो किस्ता लिएका छैनन्, कतिले त पहिलो किस्ता नै लिन बाँकी छ ।”

लाभग्राहीमध्ये २२ हजार ९९७ जनासँग सम्झौता भएको थियो । एक्काइस हजार ६५४ लाभग्राहीले पुससम्म पहिलो किस्ताबापतको रकम लिएर पहिलो सम्झौता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस मसान्तसम्मलाई दोस्रो किस्ता लिने मिति तोकिरहँदा त्यो अवधिमा थोरै संख्यामा भूकम्प प्रभावितले घर बनाउन थालेका श्रेष्ठ बताउछन् ।

सरकारले दुई महिनाका लागि म्याद थपे पनि अझै धेरैले घर बनाउन सुरसार गरेका छैनन् । “विभिन्न समस्याका कारण लाभग्राहीले घर बनाउन सकेका छैनन्,” श्रेष्ठले भने । सरकारी निकायबाट एक हजार २६० जना र गैरसरकारी संस्थामार्फत ६३८ लाभग्राहीसँग दोस्रो सम्झौता भएको छ । सरकारी निकायबाट २० हजार ८०९ तथा गैरसरकारी संस्थाबाट ८४५ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् ।

पहिले सम्झौता भएको जग्गामा पछि घर बनाउनका लागि नक्सापास नहुँदा धेरैजना लाभग्राहीले अर्कै जग्गामा घर बनाउन निवेदन दिएको श्रेष्ठले बताए । उनले भने, “स्थानीय निकायबाट नक्सापास नभएको भन्दै पहिले सम्झौता भएको भन्दा अर्कै ठाउँमा घर बनाउन चाहने लाभग्रही धेरै छन्, सम्झौता गरिएका कतिपय लाभग्राही मृत्यु हुँदा समेत समस्या भएको छ ।”

कतिपय लाभग्राही विदेशमा हुँदा घर बनाउन शुरु गर्न नसकेका श्रेष्ठले बताए। कतिपयको नाबालकको नाममा जग्गालगायत सम्पत्ति हुँदा समस्या भएको छ । “केही लाभग्राही सम्झौताका लागि आउन नसक्ने छन्,” उनले भने । घर बनाउन ढिलो भएका समस्याको समाधान गरिरहेको श्रेष्ठको भनाइ छ । गुठीका नाममा जग्गा हुँदा समेत समस्या भएको छ ।

देवीचउरमा जोखिमपूर्ण बस्ती भएकाले लाभग्राहीले घर बनाउन सकेका छैनन् । छ सय ८५ लाभग्रही रहेको सो ठाउँमा ३८५ जनासँग मात्रै समझौता भएको छ । सो ठाउँमा धेरैजसो लाभग्राहीले पहिलो किस्ता नै पाउन सकेका छैनन् । सरकारी निकायको तुलनामा गैरसरकारी संस्थाले निजी आवास निर्माणको काम तीव्रगतिमा अघि बढाएका छन् । गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर निर्माण सकाएर ५५६ लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् भने ६३८ जनाले दोस्रो किस्ता तथा ८८५ जनाले आवास निर्माणका लागि पहिलो सम्झौता गरेका छन् ।