राजनीति

ओलीको एक कलले दाहालका प्रेस सल्लाहाकारको जागिर चैट

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवायलमा कार्यरत एक सहयोगी हटाइएका छन् ।
दाहालका प्रेस सहयोगीका रुपमा कार्यरत मनहरि तिमिल्सिनालाई जिम्मेवारीबाट हटाइएको हो ।

एमाले अध्यक्ष केपी ओलीमाथि ‘दिल्लीभक्त’ आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुक ग्रुपमा ‘क्याम्पेनिङ’ गरेको आरोपमा उनीमाथि दाहालले ‘एक्सन’ लिएका हुन् । तिमिल्सिनाले ओलीलाई २०४६ देखि २०७२ सालसम्म दिल्लीभक्त, महाकाली सन्धिका प्रमुख योजनाकार, २०७२ असोजदेखि २०७४ माघसम्म चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार र ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका थिए । तिमिल्सिनाले आफ्नो उक्त पोष्टलाई फेसबुकमा भाइरल बनाउन आग्रह गरेका थिए । एमाले अध्यक्ष ओलीका सहयोगीले दाहालका सहयोगीले लगाएको आरोपको ‘स्क्रिन सट’ देखाएपछि ओलीले दाहाललाई तिमिल्सिना सचिवालयमा रहे-नरहेको सोधेका थिए ।

दाहालले तिमिल्सिना आफ्नो सचिवालयमा रहेको जवाफ दिएपछि ओलीले आफ्नोबारे उनले जथाभावी लेखेको भन्दै हटाउन भनेका थिए । दाहालले तत्कालै ‘एक्सन’ लिने बताए । स्रोतका अनुसार दाहालले पार्टी एकताको प्रयास अघि बढिरहेका बेला बाम गठबन्धनका प्रमुख नेताविरुद्ध आफ्नो सचिवालयमा बसेर अफवाहपूर्ण आरोप लगाएको भन्दै तिमिल्सिनालाई अबदेखि नआउन भनेका थिए । तिमिल्सिनालाई दाहालले बिहीबार निवासबाट बिदा गरेको उनको सचिवालयले पुष्टि गरेको छ ।