पु.समाचार

जिल्लाका तीन ठाउँमा ट्राफिक बत्ती राखिन्छ : हाछेथु

ललितपुर । जिल्लामा तीन ठाउँमा ट्राफिक बत्ती राख्न लागिएको छ । यसअघि कुनै पनि ठाउँमा ट्राफिक बत्ती नभएकोमा ललितपुर जिल्लामा पहिलो पटक राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताए । जावलाखेलको अल्का अस्पताल अगाडि, पुल्चोकको मन्त्री क्वार्टर अगाडि र कुपण्डोलमा कानदेवतास्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा बत्ती जडान हुन लागेको हो । यी स्थानमा ट्राफिक बत्तीको पहिलेदेखि नै आवश्यकता रहेको उनी बताउछन् । उनले भने, “यसले गर्दा ट्राफिक र चालक दुवैलाई सजिलो हुनेछ ।”

तीन ठाउँमा ट्राफिक बत्ती हुँदा थापाथलीको दैनिक हुने जाम कम हुनाका साथै दुर्घटना कम हुनेछ । सडकमा बत्ती हुँदा ट्राफिक प्रहरीको जनशक्ति कम भए पुग्नेछ । उनले भने, “अहिले चारजनासम्म बस्ने गरेको यी चोकमा अब एक जना ट्राफिकले व्यवस्थापन गर्न सक्छन् ।” यसअघि जुनसुकै समयमा र तीव्र गतिमा चलाइरहेकामा चालकहरुले अब भने बत्ती हेरेर गति सीमित गर्नुपर्नेछ ।

ट्राफिक प्रहरीलाई भन्दा ट्राफिक बत्तीलाई चालकले सजिलै र टाढाबाट नै देख्ने उनले बताए । ट्राफिक बत्ती जडान भएपछि सडक अनुशासन कायम भई दुर्घटना कम हुन सहयोग पुग्ने विश्वास गरिएको छ ।