राजनीति

विकास र समृद्धितर्फ अगाडि बढ्नुपर्छः अध्यक्ष यादव

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अभावभित्र पनि सम्भावनालाई पहिचान गर्दै विकास र समृद्धितर्फ अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् ।

आज रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा उनले भने – “जातीय विभेद र घृणाले मधेसको विकास हुन सक्दैन्, त्यसैले जातीय सद्भाव र सहिष्णुता कायम गर्न सबैको सोचमा परिवर्तन हुनुपर्दछ ।”

अध्यक्ष यादवले संघीय संरचनामा पनि २ नं प्रदेशलाई विभेद गरिएको उल्लेख गर्दै “संघीयतामा संरचनागत विभेद छ, प्रदेश नं २ मा जति चरम गरिबी, बेरोजगारी र अभाव अन्य कुनै पनि प्रदेशमा छैन,” भने ।

मधेसका महिलाहरु अझै पनि आर्थिक, सामाजिक र पहुँचमा पछि परेको बताउँदै उनले देशको युवा शक्ति विदेश पलायन हुने र अर्कातिर बाँकी रहेका युवा पनि कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष यादवले युवाहरु नैतिकवान् र आदर्शवान् नभएसम्म समाजको विकास असम्भव छ भन्दै विकास र समृद्धिको मूल आधार शिक्षा भए पनि मधेशको शिक्षा नीति ध्वस्त भइसकेको धारणा व्यक्त गरे ।

समृद्ध समाज बनाउन गुणस्तरीय शिक्षा जरुरी रहेको बताउँदै उनले नियमानुसार पठनपाठन नगर्ने विद्यालय र शिक्षकमाथि कारबाही हुनुपर्नेमा जोड दिए ।