राजनीति

धर्मले समाजलाई शान्त राख्छः दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धर्मले समाजलाई शान्त राख्दै मानिसलाई निष्ठावान् बनाउन मद्दत गर्ने बताएका छन् ।

गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञलाई आज तनहुँको देवघाटमा सम्बोधन गर्दै उनले अध्यात्मले विकृति र विसंगति हटाउनका लागि ठूलो मद्दत गरेको बताउनुभयो । उनले भने “ सकारात्मक चिन्तनले समाजमा शान्ति हुने र नकारात्मक चिन्तनले समाज विघटनतिर जान्छ ।”
अध्यक्ष दाहालले देवघाटका आश्रमलाई विश्वस्तरको बनाउन आवश्यक रहेको बताउँदै महायज्ञले यहाँको धार्मिक पर्यटन विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री दाहालले गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाङ्ग विद्यालय भवनको शिलान्याससमेत गरे ।

कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेकपा (माओवादी)का नेता नारायण दाहाल, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेल, बद्री तिमिल्सिनालगायतले बोलेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उद्घाटन गरेको महायज्ञ आगामी फागुन २ गतेसम्म चल्नेछ ।