पर्यटन/संस्कृति

छाउपडी प्रथा हटाउन अभियान सञ्चालन गर्नुपर्ने : अधिकारकर्मी

काठमाडौँ । छाउपडी प्रथालाई अभियान नै सञ्चालन गरेर हटाउनुपर्ने सरोकार भएकाहरुले बताएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘छाउपडी प्रथा उन्मूलन अभियान’ विषयको अन्तक्र्रियामा एमाले पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले धर्मग्रन्थमा नभएर पहिलेदेखि चलिआएको कुप्रथा भएकाले सतीप्रथालाई हटाए जस्तै सबै जागरुक हुने हो भने अभियान सञ्चालन गरेर हटाउनुपर्ने बताईन् । उनले विद्यालयस्तरको पाठ्यक्रममा छाउपडी प्रथा राख्नुपर्ने सुझाव पनि दिईन् ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले छाउपडी प्रथालाई रोक्नका लागि राज्यस्तरबाट नै अभियान सञ्चालन गर्नुपर्ने बताईन् । नेकपा (माओवादी केन्द्र)की नेत्री पार्वती थापाले राजनीतिक दलले पनि छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताईन् । समाजशास्त्री विद्या भट्टराईले राजनीतिक दलसँग प्रत्यक्ष जोडिएका विद्यार्थी संगठनले छाउपडी प्रथा उन्मूलन गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले धर्म, परम्पराको नाममा रहेको छाउपडी प्रथाले महिलाले अकालमा ज्यान गुमाउनु परेकाले सतीप्रथा जस्तै छाउपडी प्रथालाई पनि थन्क्याएर राख्नुपर्ने बताए । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रदेश नंं ६ र ७ मा छाउपडीजस्ता कुप्रथाले जरो गाडेकाले यसलाई हटाउन जरुरी रहेको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले मुलुकले राजनीतिक लडाइँमा सफलता प्राप्त गरेसँगै अब सामाजिक–सांस्कृतिक रुपमा छाउपडीजस्ता कुप्रथालाई हटाएर सफलता प्राप्त गर्नुपर्ने बताए । अछाम, बाजुरा, डोटी, बैतडी, दैलेख, जुम्ला कालीकोटलगायत जिल्लामा छाउपडी प्रथा व्याप्त छ ।