राजनीति

केपी ओली दुई बर्षका लागि प्रधानमन्त्री बन्छन् : अध्यक्ष राणा

भक्तपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले अब दुई साताभित्र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले भने– “अबको दुई वर्षसम्म वाम गठबन्धनले ओलीको नेतृत्वमा सरकार सञ्चालन गर्ने निश्चित छ ।”

अध्यक्ष राणाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भने नहुने दाबी गर्दै प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा राख्नु गलत भएको धारणा व्यक्त गरे ।

बहुमत पक्षलाई अपायक पर्ने ठाउँमा प्रदेश राजधानी राख्न नहुने भएकाले सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्नेमा जोडदिदैं उनले नेपाल संघीयतामा प्रवेश गरेता पनि प्रदेश सरकारको आर्थिक भार कसरी धान्ने भन्नेबारेमा सरकारको कुनै योजना नरहेकाले यसले थप समस्या निम्ताउने बताए ।

अध्यक्ष राणाले प्रदेशको आर्थिक पक्षको बारेमा योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै विगतमा ओली नेतृत्वको सरकारसँग बिग्रिएको सम्बन्ध सुधार्न भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण देखाएको बताए ।

नेपालको विदेश नीतिबारे सरकारले आधिकारिक धारणा बनाएर अघि बढ्नुपर्ने बताउँदै उनले सीमा समस्याका बारे सरकारले ठोस र कूटनीतिकस्तरबाट समाधानको बाटो खोज्नुपर्ने धारणा राखे ।