पर्यटन/संस्कृति

शिवरात्री लक्षित भण्डारा सुरु, साधुहरु आउने क्रम जारी

काठमाडौं । महाशिवरात्रीमा भगवान पशुपतिनाथको दर्शनका लागि आउने साधु, सन्त र सर्वसाधारणका लागि पशुपति क्षेत्रस्थित वनकालीमा निःशुल्क भण्डारा सुरु भएको छ ।
शिव सेना नेपाल र बाबा मोहननाथ गुरुगद्दि जालोरको आयोजनामा ‘महाशिवरात्रिमा चौथो विशाल भण्डारा २०७४’ सोमबारबाट सुरु भएको छ । भगवान शिवको विशेष पुजापाठ र हवनसँगै भण्डारा सुरु भएको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले जानकारी दिए ।

केही वर्षदेखि शिव सेनाले निःशुल्क भण्डारा सञ्चालनको अभिभारा पूरा गर्दै आएको छ । पहिलो वर्ष तीन दिनका लागि निःशुल्क भण्डाराको आयोजना गरिएको थियो । गतवर्ष पाँच दिनका लागि गरिएको भण्डारा यसवर्ष शिवरात्रिको एक साताअघि देखि नै सञ्चालन गरिएको छ ।

अध्यक्ष बस्नेत भन्छन्, ‘विगतको तुलनामा यसपटक बढी दिन भण्डाराको आयोजना गरेका छौं । एक सातामा करिब १ लाखले निःशुल्क भोजन गर्नुहुनेछ भन्ने हाम्रो अनुमान हो ।’ भण्डाराको सात्विक भोजनमा खीर, मीठाई, फलफूलसमेत राखिएको छ ।

यसवर्षको महाशिवरात्रि फागुन १ गते परेको छ । महाशिवरात्रिमा भगवान पशुपतिनाथको दर्शनका लागि बाबा र साधुहरु काठमाडौं आउन थालिसकेका छन् । शिवरात्रिमा भारतबाट साधु, बाबा, सन्यासी, जोगी, नागाबाबासमेतको भीड हुने गर्छ । साधुहरुको आउनेक्रम जारी छ ।

शिव सेना नेपालले अन्य अवस्थामा पनि यसखाले निःशुल्क भण्डाराको आयोजना गर्ने गथ्र्यो । भारतले नेपालमाथि गरेको नाकाबन्दीको दौरान करिब पाँच महिना शिव सेना नेपालले वनकालीमा दैनिक हजारौंका लागि निःशुल्क भोजनको प्रबन्ध मिलाएको थियो । त्यसअघि १०८ बालिकाहरुको सामूहिक बेल विवाह, नयाँ जोडीहरुको सामूहिक विवाह, सामूहिक उपनयनलगायत सामाजिक संस्कारको आयोजना शिव सेनाले गर्दै आएको छ ।