खेलकुद

मेयरकप फुटबलको उपाधि वालिङलाई

बागलुङ । बागलुङ नगरपालिकाद्वारा यहाँ आयोजित ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ ।

स्थानीय बाङ्गेचौर खेल मैदानमा आज भएको फाइनल खेलमा पोखरा लेखनाथ महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै वालिङ विजेता बनेको हो ।

खेल शुरु भएको पहिलो मिनेटमै सफल थापाले गरेको गोल नै वालिङको जितका लागि निर्णायक बन्यो । उपाधिसँगै वालिङले रु दुई लाख २२ हजार पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, उपविजेता पोखरा लेखनाथ महानगरपालिकाले रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ । बागलुङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र उपप्रमुख सुरेन्द्र खड्काले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

वालिङका गोलरक्षक राजाबाबु थापाले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पोखराका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, लक्ष्मण जिसी उत्कृष्ट डिफेन्डर, टंकप्रसाद गुरुङ मिडफिल्डर तथा विजय श्रेष्ठ उत्कृष्ट स्ट्राइकर र वालिङका केशर थापा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई जनही रु पाँच/पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । तनहुँको व्यास नगरपालिका प्रतियोगिताको अनुशासित टोली घोषित भयो ।

शहीद दिवसको अवसर पारेर नकआउट आधारमा खेलाइएको उक्त प्रतियोगितामा ४ नं प्रदेशका ११ वटा नगरपालिकाका टिमले सहभागिता जनाएका थिए ।