पु.समाचार

प्रदेशसभा बैठकको पूर्वाभ्यास

विराटनगर । सोमबार हुने प्रदेश नं १ को पहिलो बैठकका लागि आज जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्वाभ्यास बैठक सञ्चालन गरियो । सो अवसरमा प्रदेश ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभा सञ्चालन गरे । उनले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त पत्र सुनाउँदै प्रदेशसभा सदस्यलाई स्वागत गर्दै बैठक सञ्चालन गरे ।

सो अवसरमा ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । ज्येष्ठ सदस्य सरावगीले प्रदेशसभा सञ्चालन आन्तरिक विधि पारित गर्न सदस्यहरुलाई आह्वान गरे ।

उनले यही माघ २९ गते हुने प्रदेश सभामुख निर्वाचनका लागि आज सूचना जारी गर्न प्रदेश सचिवालयलाई आह्वान गर्दै आगामी माघ २९ गतेसम्मका लागि सदन स्थगित गरिएको जानकारी गराए ।

पूर्वाभ्यास बैठकमा प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश सचिवालयका कर्मचारी, जिल्ला समन्वय समितिका कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सोही अवसरमा प्रदेशसभा सञ्चालनका क्रममा आइपर्ने विभिन्न बाधा व्यवधानको समस्या समाधान गर्न मर्यादापालकले गर्नुपर्ने कार्य सम्बन्धमा पनि पूर्वाभ्याससमेत गरिएको थियो ।

दुलहीझैँ सिँगारियो सभा भवन

प्रदेश नं १ को पहिलो अधिवेशनको भव्य तयारी गरिएको छ । विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा भोलि अपराह्न १ बजेदेखि अधिवेशनको शुभारम्भ हुनेछ । सो सभा भवनमा पहिलो अधिवेशन सञ्चालनका लागि तयारी पूरा भइसकेको संसद् सचिवालयका सहसचिव धु्रव घिमिरेले जानकारी गराए ।

प्रदेशसभा भवनको माथिल्लो भाग अर्थात रोस्टममा कार्पेट बिछ्याएर सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिएको छ ।

रोस्टमको मुनि भागमा निलो कार्पेट बिछ्याएर संसद् सदस्यको कुर्सी राखिएको छ । दुलहीझैँ सिँगारिएकोे सभा भवनमा एकातर्फ सत्तापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिएको छ । त्यसको पछाडिको भागमा सञ्चारकर्मीको लागि कुर्सीको व्यवस्था गरिएको छ ।

सभा भवन परिसरको सुरक्षाको व्यवस्था पनि चुस्त गरिएको छ । भवनको प्रवेशद्वारमा ‘मेटल डिटेक्टर’को पनि व्यवस्था गरिएको छ ।

सभा भवन साघुँरो भएकाले सञ्चारकर्मीलगायत आमन्त्रित व्यक्तिका लागि परिसरमै बस्ने व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए । परिसरबाट टिभी वा प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।