स्वास्थ्य

स्वास्थ्य सहायकको राष्ट्रिय प्रशिक्षण काठमाडौँमा

काठमाडौँ । वृत्ति विकास, संघीयतमा कर्मचारी समायोजन, गुणस्तरीय स्वास्थ्य सेवा विषयमा छलफल गर्न देशभरका स्वास्थ्य सहायक काठमाडौँमा भेला भएका छन् ।

स्वास्थ्य सहायक संघ नेपाल (हान) ले आयोजना गरको ‘प्रथम राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’ मा संघीय संरचनामा स्वास्थ्य सहायकको व्यवस्थापनका समस्या र समाधानबारे प्रशिक्षणसहितको छलफल हुने बताइएको छ ।

देशभरका स्वास्थ्य सहायकहरुको हकहित र वृद्धिविकासका लागि २०७० साल फागुनमा स्थापना भएको संघले पहिलो पल्ट राष्ट्रिय भेला गरी प्रशिक्षण आयोजना गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा सुशील प्याकुरेलले स्वास्थ्य सहायकका सबै समस्यालाई उचित व्यवस्थापन गरिने बताए । उनले भने, “शैक्षिक योग्यताको उचित कदर हुनैपर्छ, हामीबाट कमजोरी भएको छ, त्यसलाई सुधार गर्दै मर्यादाक्रमअनुसार व्यवस्थापन गर्नेछौँ ।’’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा तारानाथ पौडेलले अहिले देखिएका समस्यालाई चाँडो समाधान गर्ने र समायोजनमा पनि योग्यताको कदरअनुसार उचित व्यवस्थापन गर्नेबारे संघसँग छलफल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयका समायोजन इकाइका शम्भु काफ्लेले उचित व्यवस्थापन गर्न कार्यदल बनाएर काम गरिरहेको जानकारी दिए । “गाउँपालिका र नगरपालिकामा जनशक्ति समायोजन गर्दा स्वास्थ्य सहायकमाथि अन्याय भएको छ, समस्याको दीर्घकालीन समाधान खोज्नका लागि छलफल गरी अघि बढ्नेछौँ ।’’

देशभर १२ हजार ७५० स्वास्थ्य सहायक कार्यरत रहेको उल्लेख गर्दै संघका उपाध्यक्ष मेघनाथ चापागाईँले आफूहरुले पदअनुसारको जिम्मेवारी नपाएको गुनासो गरे । उनले भने, “हामीले पाचौँ तहमा लोकसेवामा नाम निकालेर काममा जाँदा चौथो तहको कर्मचारीको नेतृत्वमा रहेर काम गर्नुपर्ने बाध्यता छ, हाम्रो योग्यता अनुसारको कामको जिम्मेवारी हुनुपर्छ ।”

संघका केन्द्रीय सल्लाकार केशव दाहालले ‘गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन, व्यवस्थापन स्वास्थ्य सेवा प्रवाह र सुसासन स्वास्थ्य सहायक संघ नेपालको अभियान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै संघीयताअनुसार स्वास्थ्य मन्त्रालयले बनाएको अवधारणमा संघको असहमति रहेको बताए ।

“त्यसलाई सच्याउनु पर्छ, हाम्रा मागहरुको सम्बोधन नभएसम्म हामीले गुणस्तरीय सेवा दिन सक्दैनौँ, चौथो तहबाट प्रवेश गरेका कर्मचारीको निर्देशनमा हामीले काम गर्नुपर्ने अवस्था आउनुहुन्न”–उनले भने ।

संघका सचिव दीर्घबहादुर बोगटीले देशमा उत्पादन भएका जनशक्तिको उचित व्यवस्थापनका लागि राज्यले अहिलेसम्म पहल नगरेको गुनासो गरे । नेपालमा ४७ वटा कलेजबाट वार्षिक रुपमा एक हजार ९०२स्वास्थ्य सहायक उत्पादन हुने गरेको संघले जनाएको छ । सोमबारसम्म चल्ने प्रशिक्षणमा देशभरका ४०० बढी स्वास्थ्य सहायक सहभागी छन् ।