राजनीति

नयाँ सरकार गठनपछि पार्टी एकता – ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ सरकार गठनपछि पार्टी एकता हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले फागुनमा नयाँ सरकार हुने र त्यसपछि मात्र नेकपा माओवादी केन्द्रसँग एकता हुने स्पष्ट गरे ।

“संविधानको अपव्याख्या गर्दा नयाँ सरकार बन्न ढिलाइ भएको हो, सरकार बनेपछि दुई पार्टीबीच एकता हुन्छ”– उनले भने ।

नेता ज्ञवालीले स्थिरता र समृद्धिका लागि वाम सरकार बन्न लागेको बताए । वाम सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्ने उनको भनाइ थियो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको उल्लेख गर्दै उनले भने – “भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर अनावश्यक टीकाटिप्पणी गर्नु आवश्यक छैन ।”

सीमा क्षेत्रमा रहेको विवाद सल्टाएर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देश लाग्नुपर्नेमा नेता ज्ञवालीले जोड थियो ।