राजनीति

खर्चको जोहो नगरे मुलकमा संघीयता टिक्दैन : डा महत

विराटनगर । पूर्ब अर्थमन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिए । पार्टीको महासमितिको बैठक चाँडो बस्नुपर्ने र पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचनानुरुप महाधिवेशन गर्नुपर्ने धारणा पनि उनले राखे ।

भारतका विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले दुवै छिमेकी मुलुकबीच यस्ता राजनीति भ्रमण भइरहन्छ, यस विषयमा अनावश्यक रुपमा टीकाटिप्पणी गर्नु उचित हुँदैन भन्दै जुनसुुकै सरकार आए पनि भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

डा. महतले संघीयताको बिषयमा खर्चले धान्न नसकिने बताएपछि संघीयता टिक्न नसक्ने हो कि भन्ने टीका टिप्पणी हुन थालेको छ । ०४६ सालपछि पटक पटक मुलुकको अर्थमन्त्री बनेका डा. महत अन्तर्राष्ट्रिय पुरष्कार प्राप्त गरेका अर्थबिद समेत हुन् ।
उनले बिराटनगर गएर उक्त राजनीतिक कुरा ब्यक्त गर्नु राजनीतिक बृतमा महत्वपूर्ण रुपमा हेरिएको छ ।