राजनीति

काँग्रेस शुद्धीकरण अभियान अनतर्गत, सात जिल्ला सभापतिको देश दौडाहा सुरु

तेह्रथुम । चुनावमा अप्रत्यासित नतिजा भोग्नुपरेको भन्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सुदृढीकरणका लागि जिल्ला दौडाहा सुरु गरेका छन् ।

जिल्ला सभापतिहरूले पार्टी नेतृत्वको चरम लापरबाही बढ्दै जाँदा पार्टीको संगठन र कार्यकर्तासमेत विचलित भएकाले संगठन सुदृढीकरणका लागि जिल्ला–जिल्ला पुगेर साझा धारणा बनाउन लागेका हुन् ।

पार्टीमा नीति र सिद्धान्तभन्दा बढी नेता हाबी भएको भन्दै उनीहरूले अब नेतृत्व भन्दामाथि नीति र सिद्धान्त हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको संगठन सुदृढीकरण र अहिलेको पराजयलाई आगामी चुनावसम्ममा विजयमा परिणत गर्न पार्टीको नेतृत्व सच्चिएर फरक कार्यशैलीमा काम थालिनुपर्ने उनीहरूको भनाइ छ ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको रोल्पासम्मका सात जिल्ला सभापतिले सबै जिल्ला सभापतिको साझा धारणा बनाई पार्टीलाई सुदृढीकरणका लागि अभियान थालेका हुन् । शनिबार तेह्रथुमको म्याङलुङ्ग आइपुगेको सभापतिहरूको टोलीले पार्टी सभापतिको राष्ट्रिय भेलाको तयारी भइरहेको र सो भन्दा अगावै धेरै जिल्लामा पुगेर त्यहाँको अवस्था र अनुभव साटासाट गरेर अघि बढ्ने बताइएको छ ।

टोलीमा ताप्लेजुङ सभापति लीला बोखिम, पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, रोल्पा सभापति अमरसिंह पुन, प्युठान सभापति अमरप्रसाद भण्डारी, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, तेह्रथुम सभापति गोविन्द ढुंगाना र संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ छन् ।

इलाम, ताप्लेजुङ हुँदै पाँचथरबाट तेह्रथुम आइपुगेको टोली शनिबारै संखुवासभा पुगेको छ ।

पार्टीमा नीतिभन्दा नेतृत्व हाबी भएकाले चुनावमा पराजय भोग्नुपरेको सिँचाइ राज्यमन्त्री समेत रहेका रोल्पा सभापति अमरसिंह पुनले बताए ।

राज्यमन्त्री पुनले देश संघीयतामा जाँदै गर्दा पार्टी केन्द्रीय समितिले जिल्ला कार्यसमितिको अधिकार खोसेर पार्टीको जिल्ला र स्थानीय तहका संगठनलाई अपहेलना गरेको आरोपसमेत लगाए ।

गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ र प्यूठान सभापति अमर भण्डारीले पनि पार्टीभित्र पराजयको कारण खोजिनुपर्ने धारणा राखे ।