पर्यटन/संस्कृति

गाईलाई घरबाट ल्याएर सडकमा बेवारिसे छाडे अनिष्ट हुने – जगद्गुरु

कञ्चनपुर । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गरेका छन् ।

घरपालुवा गाई सडकमा छाडिएपछि उहाँले कठोर निर्णय लिएका हुन् । उनले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छाड्नु भएको छ । देशव्यापी भ्रमण पूरा गरी फर्किएका जगद्तगुरुले गाई छाडेर यातना दिइएकाले त्यसैका लागि अन्न त्यागेको बताए । “सडकमा छाडिएका गाई खानाको अभावमा मर्न थालेका छन्”, उनले भने, “गौ हत्या भएको धर्तीमा अन्न खाँनै सक्दिन ।” जगद्गुरु महाराजले भने, “यस कार्यले असाध्यै दुःख लागिरहेको छ ।”

भम्केनीमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बनाउन जगद्गुरुले देशव्यापी भ्रमण गरेका छन् । जगद्गुरुले गाईलाई घरबाट ल्याएर सडकमा बेवारिसे छाडे अनिष्ट हुने बताए ।
जगद्गुरुले अन्न छाडेपछि स्थानीयवासी पश्चाताप गर्दै छाडा गाई आफूहरुले पाल्ने जिम्मेवारी लिने बताउँदै जगद्गुरुलाई अन्न खान आग्रह गरेका छन् ।
भीमदत्त नगरपालिकाको तिलाचौर र जिमुवाका महिलाले गाई पाल्ने जिम्मेवारी मागेका छन् । उनीहरुले छाडिएका एक÷एक गाई पाल्ने माग गरेका हुन् । जगद्गुरुले औपचारिक कार्यक्रममा इच्छुक व्यक्तिलाई गाईपालनको जिम्मेवारी दिने सोच बनाएका छन् । स्थानीयवासीले घरमा पालेका गाई–गोरुसमेत सडकमा पुगाउन थालेपछि भीमदत्तमा छाडा गाई–गोरुको समस्या विकराल बनेको छ । भीमदत्त नगरपालिकाले छाडा गाई–गोरु व्यवस्थापनका लागि निर्देशिका बनाएर व्यवस्थापन कार्य अघि बढाएको छ ।

जगद्गुरु र भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले छाडा गाई व्यवस्थापनसम्बन्धी छलफललाई अगाडि बढाएका छन् । नगरपालिकाले भीनपा–१९ मा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित छाडा गाई–गोरु व्यवस्थापनका लागि भौतिक पूर्वाधार बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
यसैगरी शुक्लाफाँटा नगरपालिकाले समेत वनहरा नदी छेउको उपयोगविहीन जग्गामा व्यवस्थित गौशाला निर्माणको कार्य अगाडि बढाएको छ ।