राजनीति

मतदानस्थलमा उपस्थित हुन काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सातवटै प्रदेशमा हुँदैछ । काँग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भए पनि राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य र स्थानीयतहका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली काँग्रेस पार्टीको ‘ह्वीप’ पालना गर्न निर्देशन गरिएको छ ।