राजनीति

प्रदेशसभाका लागि सांसदहरु धनगढी आउने क्रम जारी

धनगढी । सात नं प्रदेशको आइतबार बस्ने पहिलो प्रदेशसभा बैठकका लागि प्रदेशसभा सदस्यहरु धनगढी आउने क्रम जारी रहेको छ । कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा सहभागी हुन यहाँका सबै जिल्लाबाट निर्वाचित र समानुपातिक सांसदहरु धनगढी आइरहेका हुन् ।

बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए । “पहिलो बैठकमा कार्यसूचीको सम्बन्धमा प्रदेश प्रमुखले आह्वान गरेको बैठकको पत्रबाट शुरुवात् हुनेछ”, उनले भने ।

उनका अनुसार धनगढी आइपुग्ने सांसदहरुले सभामा सहभागी हुन प्रवेश पाससमेत लिइरहेका छन् । शनिबार दिउँसोदेखि साँझ अबेरसम्म बैठक बस्ने सभाभवनमा समेत सांसदहरुको चहलपहल देखिएको थियो । बैठकका लागि कैलालीसँगै, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरालगायत जिल्लाबाट सांसद आइरहेका छन् ।

प्रदेशसभा बैठकस्थलमा ३० जना मर्यादापालक परिचालन गरिने छन् । प्रहरी निरीक्षकको नेतृत्वमा खटिने मर्यादापालकले आवश्यक तालीमसमेत लिइसकेका छन् । त्यसका साथै बैठकस्थल बाहिर नेपाल प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

त्रिपन्नजना सांसद रहेको ७ नं प्रदेशसभामा एमाले, काँग्रेस, माओवादी र राजपाको प्रतिनिधित्व रहेको छ । जसमा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद हुन् ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा चारवटा कार्यसूची रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्नु हुनेछ ।