पर्यटन/संस्कृति

बुद्ध पथ निर्माणका लागि साइकल यात्रा

काठमाडौँ । बुद्ध पथ (सर्किट) निर्माणका लागि प्रचारप्रसार गर्न काठमाडौँको स्वयम्भूबाट काभ्रेको नमो बुद्धसम्म साइकल यात्रा गरिएको छ । चारुमती बुद्धिष्ट मिसन नेपालको आयोजनामा वल्र्ड साइकल टुर क्याम्पेन नेपालको सहयोगमा शुरु गरिएको उक्त यात्रामा २०० जना सहभागी छन् ।

स्वयम्भूबाट छाउनी, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, काटेश्वर, बनेपा हुँदै नमोबुद्ध पुग्ने मार्ग तय गरिएको उक्त यात्राको नेतृत्व विश्व साइकल यात्री पुस्कर शाहले गरेको छ भने कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलगायत साइकल यात्रामा सहभागी छन् ।

चारुमती बुद्धिष्ट मिसन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मले कार्यक्रमको शुभारम्भ गर्दै स्वयम्भू, बौद्ध र नमोबुद्धलाई बुद्ध पथका रुपमा विकास गर्न सकेमा धार्मिक पर्यटकको आकर्षण बढने विचार व्यक्त गरे ।

नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले यात्राले बुद्धको शान्ति र अहिंसाका उपदेश फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । इमेज च्यानलका महाप्रबन्धक रघुवीर मानन्धरले बुद्ध जन्मेको मुलुकमा बौद्ध सम्पदा, शिक्षा र साहित्यको प्रवर्धनमा जोड दिए ।

विश्व साइकलयात्री शाह र कीर्तिमानी धावक मानन्धरले विश्व शान्ति तथा मानव कल्याणका लागि बौद्ध दर्शन उपयोगी रहेको चर्चा गर्दै यसका व्यवहारिक पक्ष तथा मूल्य मान्यतालाई समाजमा प्रचार गर्नुपर्ने आवश्यकता औँल्याए ।

करिब ५० किलोमिटरको दुरी रहेको उक्त यात्राका क्रममा सो टोलीलाई नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकाले अभिनन्दन गरेको थियो भने विभिन्न स्थानमा सर्वसाधारणले स्वागत तथा यात्राको सफलताको कामना गरेका थिए ।