स्वास्थ्य

मिर्गौला पीडित तिलिजालाई एक लाख ७७ हजार बढी सहयोग

म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–४ दग्नामका मिर्गौला पीडित राजकुमार तिलिजाको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका दग्नामवासीले रु एक लाख ७७ हजार ९७५ आर्थिक सहयोग गरेको छ ।

२२ वर्षीया तिलिजाको दुवै मिर्गौला फेल भएको कारण उनको उपचारका लागि सञ्चालन गरिएको सहयोग संकलन अभियानअन्तर्गत अष्ट्रेलिया, हङकङ, पोखरा र बेनी गलेश्वरमा बसोबास गर्ने दग्नामवासीको पहलमा सो रकम संकलन गरिएको हो ।

पीडित तिलिजा परिवारलाई एक कार्यक्रमका बीच आज दग्नाम दरमिजा बेनी–गलेश्वर समाजका सचिव धनिलाल गर्बुजा, उपाध्यक्ष कुलप्रसाद गर्बुजा, सदस्य सरिता गर्बुजाको रोहवरमा सो रकम हस्तान्तरण गरिएको छ ।

तिलिजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन स्वदेश तथा विदेशमा रहेका दग्नामवासीको पहलमा सञ्चालन भएको अभियानअन्तर्गत अहिलेसम्म रु चार लाख ५० हजार बढी रकम जुटिसकेको छ । काठमाडौँस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा डायलासिस गरी उपचार गरिरहेका तिलिजाको मिर्गौला प्रत्यारोपणको प्रक्रियासमेत छिट्टै शुरु हुने पारिवारिक स्रोतले जनाएको छ ।

गत कात्तिक ७ गतेदेखि हप्तामा दुई पटक डायलासिस गरी उपचाररत तिलिजाको मिर्गौला प्रत्यारोपणका लागि उनकै आमा पूर्णकुमारी तिलिजाले मिर्गौला दिने प्रायः निश्चित छ ।