राजनीति

राष्ट्र निर्माणमा जुट्नुको विकल्प छैनः उपप्रम गच्छदार

इटहरी । उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले अब देश र जनताको समग्र विकास एवं उत्थानका लागि ठोस नीति र योजना बनाउन जरुरी रहेको बताएका छन् ।

नेपाल वितरक महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राजनीतिक स्वार्थ त्यागेर राष्ट्र निर्माणमा जुट्नुको विकल्प नभएको बताए ।

सरकारले विराटनगरलाई अस्थायी राजधानी तोक्ने कार्य आफूलाई चित्त नबुझेको स्पष्ट पार्दै उपप्रधानमन्त्री गच्छदारले इटहरी पूर्वकै विकसित, व्यवस्थित र सुन्दर शहर बनेकातर्फ कसैको दुई मत नभएको र प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी इटहरीलाई बनाउन कसैले नरोक्ने दाबी गरे ।

इटहरीलाई प्रदेशको राजधानी बनाउन सबैले एक भएर अघि बढ्नुपर्ने र त्यसका लागि आफूले के कस्तो भूमिका खेल्नुपर्छ त्यसका लागि तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घका अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रोहित प्रसाईं, प्रदेश सांसद लीलम बस्नेत, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतमलगायतले धारणा राखेका थिए ।

सो अवसरमा महासङ्घले पोखरा र इटहरी वितरक सङ्घलाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो । साधारणसभामा देशभरका वितरक शाखाका प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।