साहित्य

साहित्यकार ब्राजाकीको अन्त्येष्टि

काठमाडौँ । साहित्यकार मनु ब्राजाकीको धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा आज अन्तिम संस्कार गरिएको छ ।

उहाँको पार्थिव शरीरमा उहाँका सुपुत्र अमितसिंह भण्डारीले दागबत्ती दिनुभयो । साहित्यकार ब्राजाकीलाई अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाटमा साहित्यकार, लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिको भीड थियो । साहित्यकार ब्राजाकीको आज बिहान १०ः३० बजे ७५ वर्षका उमेरमा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । विसं २०६० देखि मस्तिष्क शिरोघात समस्याले पीडित ब्राजाकी मंसिर अन्तिम साता अस्पताल भर्ना हुनुभएको थियो ।

विसं १९९९ साउन १९ गते महोत्तरीको औरहीमा जन्मनुभएका चेतमानसिंह भण्डारी मनु ब्राजाकीका नामले बनारसमा अध्ययन गर्दादेखि गजल विधामार्फत साहित्य सिर्जनामा लाग्नुभएको उहाँका विषयमा खोज गर्नुभएका जीवनपानी पोखरेलले जानकारी दिनुभयो । नेपाल फर्किएपछि भने उहाँले कथा विधामा पनि कलम चलाउनुभएको थियो ।

कथा, गजल, संस्मरण र स्तम्भ लेखनमा सक्रिय ब्राजाकीका ‘तिम्री स्वास्नी र म’, ‘अवमूल्यन’, ‘पारदर्शी मान्छे’, ‘अन्नपूर्णाको भोज’, ‘जनजीवनका जीवनगाथा’, ‘मनु ब्राजाकीका लघुकथा’, ‘गजल गंगा’, ‘काँडाको फूल’, ‘आगोले त पोल्छ, पोल्छ पानीले पनि पोल्छ’ लगायत कृति प्रकाशित छन् । उहाँका ‘मनु ब्राजाकीका रोजा गजल’, संस्मरण, समालोचना, कृति समीक्षालगायत पुस्तक प्रकाशोन्मुख छन् । साहित्यकार ब्राजाकीकी श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।