पर्यटन/संस्कृति

होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट

हेटौँडा । हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ ।

हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।

सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिए ।

उनले भने, “प्रदेशको राजधानी हेटौंँडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुशी पनि छन् ।” हेटौँडामा पर्याप्त होटल रहेको भन्दै उनले प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए ।

अस्थायी मुकाम हेटौंँडा तोकिएपछि संघले बैठक बोलाएर प्रदेश सांसदलाई खाना र बसाइँमा छुट दिने निर्णय गरेको अध्यक्ष शर्माले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा सहभागि हुन हेटौँडा आइपुग्नुभएका सांसदलाई आवास तथा खानाको व्यवस्था मिलाउन पाउँदा खुशी लागेको मानस गेष्ट हाउसका सञ्चालक मानबहादुर लामाले बताए ।

त्यसैगरी थकाली भान्छाघरका सञ्चालक शम्भु अधिकारीले छुट पाएकामा सांसदहरु खुशी भएको बताउँदै स्थायी राजधानी हेटौँडा भएको खण्डमा सधैँ छुट दिन सकिनेसमेत बताए ।

हेटौंँडाका होटल व्यवसायीले गरेको छुट हेटौँडावासीको माया भएको सांसद रीता माझीले बताए । होटल व्यवसायीको यस कार्यले सांसदहरु खुशी नै भएको उनको भनाइ छ ।