अन्तर्राष्ट्रिय

प्राकृतिक प्रकोपमा परी चीनमा ८८१ जनाको मृत्यु

बेइजिङ । चीनमा प्राकृतिक प्रकोपमा परी सन् २०१७ भरिमा ८८१ जनाको मृत्यु भएको छ भने अन्य ९८ जना अहिलेसम्म पनि बेपत्ता नै रहेका छन् ।
बाढी पहिरो, आँधी, सुख्खा, अनावृष्टी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण उनीहरुको मृत्यु भएको नागरिक मामिला मन्त्रालयले बिहीबार जनाएको छ ।
प्राकृतिक प्रकोपले १४ करोड नागरिक प्रभावित भएको मन्त्रालयले वेभसाइटमा प्रकाशित गरेको छ । प्राकृतिक प्रकोपका कारण ५२ लाख ५० हजार नागरिक विस्थापित भएका थिए भने १७ लाख चिनियाँलाई आपतकालिन सहयोगको खाँचो परेको थियो ।
झण्डै एक लाख ५३ हजार घरमा क्षति पुगेको छ भने तीन लाख १२ हजार घर नष्ट भएको मन्त्रालयले जनाएको छ । विगत पाँच बर्षको तुलनामा सन् २०१७ कम दुखदायी भयो ।
प्राकृतिक प्रकोपले कृषि क्षेत्रलाई बढी प्रभावित गरायो भने अर्थतन्त्रमा २० प्रतिशत को क्षति देखियो ।
प्राकृतिक प्रकोपका कारणले घरहरूमा सन् २०१७ मा अघिल्ला पाँच बर्षको औषत क्षति भन्दा ६० प्रतिशत कम क्षति भएको छ ।
त्यसैगरी मानिसहरु प्रभावित हुने, मृत्यु हुने, घाइते हुने, विस्थापित हुनेहरुको संख्या पनि अघिल्ला पाँच बर्षको तुलनामा सन् २०१७ मा ४० प्रतिशत कम भएको मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।