पु.समाचार

काठमाण्डौ प्रहरीद्वारा ठगी गरेको अभियोगमा सात पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा पाँच जनालाई आज सार्वजनिक गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले भारतको नयाँदिल्ली हुँदै क्यानडा, जापान तथा युरोपका विभिन्न मुलुक पठाइदिने भनी ठगी गरेको अभियोगमा गुल्मीका नारायण घिमिरे, रुपन्देहीका झपेन्द्र थापा मगर र अर्घाखाँचीका अर्जुन अर्याल तथा भारतका सन्दीप सिंह र रोनाल्ड गहतराजलाई बुधबार पक्राउ गरेको थियो ।

प्रहरीले अभियुक्तसँग नेपाली राहदानी १९, बङ्गलादेशी राहदानी २५ र भारतीय राहदानी एक थान तथा विभिन्न व्यक्तिको प्रहरी प्रतिवेदन ११ थान कागजातसहित होटल इन्काउन्टर ठमेलबाट बरामद गरेको हो ।

अभियुक्तमध्ये गहतराजले नयाँ दिल्लीमा ग्लोबल ट्रेडिङ कन्सल्टेन्सी र घिमिरेले पुतली सडकमा निकिता ग्लोबल कन्सल्टेन्सीबाट ठगी गर्दै आएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जिकिर गरेको छ । अभियुक्तलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ ।