आर्थिक

नगरपालिका विकास योजना सार्वजनिक

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले हाल सञ्चालन गरिरहेको ४२ बुँदे विकास योजनाको खाका आज यहाँ सार्वजनिक गरेको छ ।
सो नगरपालिकाले प्रस्तुत गरेको योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्र, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड र आधुनिक बसपार्कको निर्माण, फुटपाथ व्यवस्थापन, तालतलैया मर्मत सम्भार, सामाजिक विकास कार्यक्रमलगायत रहेका छन् ।
नगरका कूल २३ वडाका लागि करिब रु १८ करोडको बजेट विनियोजनभित्र समेटिएको नगर प्रमुख धवलशम्शेर राणाले जानकारी गराए ।
त्यसैगरी, नगरको साँघुरो कान्जीहाउसको सट्टा ठूलो कान्जी हाउस र गौशाला निर्माण, छाडा चौपाया नियन्त्रण ट्राफिक व्यवस्थापनलगायतका कार्यक्रम पनि योजनामा राखिएको छ ।
यसैबीच, नगरपालिकामा बुधबारदेखि टोल फ्रि कक्ष स्थापना गरिएको छ । नागरिकका गुनासा र सेवा, सुविधाका विषयमा जानकारी लिने उद्देश्यले स्थापना गरिएको पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–८१–५२०५२ नम्बरमा फोन गरेर गुनासो र नगरपालिकाद्वारा सञ्चालित सेवाका बारेमा जानकारी लिन सकिने छ ।