उर्जा

१५ दिनभित्र यस्तो नभए ललितपुरमा विद्युत काट्ने कुलमान घिसिङको चेतावनी !

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ । संगठित रुपमा विद्युत चोरी भइरहेका क्षेत्रमा ब्ल्याकआउट गर्न लागिएको प्राधिकरणले बतायो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ललितपुरका विभिन्न क्षेत्रमा वर्षौदेखि संगठित रुपमा विद्युत चोरी भएको बताउँछन् । साथै उनले ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षेत्रका उपभोक्तालाई चोरी नगर्न र गरेको भएमा पनि त्यसलाई १५ दिनभित्र हटाउन आग्रह गरेका छन् ।

ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको छ ।

गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी, गुहीटोल, ठैब, बाँडेगाउँ, लुभु जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा अत्याधिक विद्युत चोरी हुने क्षेत्र हुन् ।

यसैगरी, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँ लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युत चोरी गरेको फेला परेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले जानकारी दिए ।

ती क्षेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपैयाँ राजश्व गुमाइरहेको छ ।

‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइजती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुने छौं,’ घिसिङले भने ‘त्यसपछि जस्तो जुकै ठूलो दबाव आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युत चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’