स्वास्थ्य

चार महिनादेखि एम्बुलेन्स विग्रँदा सेवा प्रभावित

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा रहेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रको एम्बुलेन्स बिग्रँदा चार महिनादेखि एम्बुलेन्स सेवा प्रभावित भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, छतिवन सामुदायिक वनलगायत विभिन्न संघसंस्थाको सहयोग र चन्दा संकलनबाट ५ वर्षअघि २०६९ साल साउनमा सामुदायिक स्वास्थ्य केन्द्रले किनेको एम्बुलेन्स बिग्रिएपछि मर्मत गर्ने रकम अभावमा एम्बुलेन्स सेवा प्रभावित भएको हो ।

गाउँपालिकाको एक मात्र एम्बुलेन्स मर्मत हुन नसक्दा बिरामीको एम्बुलेन्स सेवा नपाएर उपचारमा ढिलाइ भएका कारण ज्यानसमेत जाने गरेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज मोहनबहादुर जिसीले बताए ।

“एम्बुलेन्सका लागि राति रुँदै फोन गर्छन्, बिग्रिएको भन्नुबाहेक केही उपाय हुन्न, समस्या छ”, उनले भने । ग्राभेल सडकमा केही महिनाअघि एम्बुलेन्स दुर्घटना हुँदा नराम्ररी बिग्रिएपछि रकम अभावले मर्मत गर्न नसकिएको केन्द्रका इन्चार्ज मोहनबहादुर जिसीको भनाइ छ ।

मर्मतका लागि गाउँपालिकाले सुनुवाइ नगरेको स्वास्थ्य सेवा केन्द्रको गुनासो छ । एम्बुलेन्स नहुँदा बिरामीले चर्को रकम खर्च गरी निजी सवारी साधन प्रयोग गर्न बाध्य छन् । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केसीले एम्बुलेन्स आवश्यक हो, चार महिनादेखि बिग्रिएको छ, मर्मतका लागि सहयोग नगर्ने भन्ने हुँदैन चैतसम्म केही सहयोग गर्न प्रयास गर्ने बताए । “संस्थाले एम्बुलेन्स किन्न सहयोग ग¥यो, उसैले गर्नुपर्ने हो तर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्न सकेमा अझै छिटो बनाउन सकिन्थ्यो”, उनले भने ।

एम्बुलेन्स हस्तान्तरण गर्नुपर्ने गाउँपालिकाको माग छ । गैरसरकारी संस्था महासंघले हस्तान्तण गर्न नमिल्ने जनाएको सामुदायिक स्वास्थ्य सेवा केन्द्रले जनाएको छ । अनुमानित रु दुईलाखदेखि तीन लाखसम्म खर्च गरेमा एम्बुलेन्स बनाएर सेवा सञ्चालन गर्न सकिने उनले बताए । गत असोज ६ गतेदेखि मेशिनरी सामान, गियर बक्स लगायतका सामान बिग्रिएर एम्बुलेन्स थन्किएको छ ।