राजनीति

आउने सरकारले बालमैत्री संरचना तयार गर्छ – अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले बालमैत्री संरचना तयार गर्ने बताएका छन् ।

सिंहदरबारस्थित नेकपा (एमाले) कार्यालयमा बालसञ्चार केन्द्र एवं बालमैत्रीका अध्यक्ष रविराज बसौलाको नेतृत्वमा गएको टोलीले आज बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले आगामी सरकारले बालमैत्री संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष ओलीले भने, “बालबालिका शान्ति क्षेत्र हुन्, उनीहरुको श्रव्य र दृश्यमा वा मस्तिष्कमा असर पर्ने गरी कुनै पनि काम गर्न हुँदैन ।” उनले बालबालिका असर पर्ने खालको सामाजिक परिस्थितिको समेत निर्माण गर्न नहुनेमा जोड दिए ।

बालबालिकालाई विषादीमुक्त खाना खुवाउनुपर्ने र शिक्षा, स्वास्थ्यमा ध्यान दिइ बालबालिकालाई गलत व्यवहार गर्नेलाई दण्डनीय बनाउनुपर्ने अध्यक्ष ओलीको भनाइ छ । बालबालिकाप्रति सबै खालका दुव्र्यवहार अन्त्य गर्न जरुरी रहेकोसमेत अध्यक्ष ओलीको जोड थियो ।

केन्द्रका अध्यक्ष बसौलाले स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण गर्ने ऐन, नीति र नियमावलीमा बालबालिकाको सर्वोत्तम हितलाई आत्मसात् गर्नुपर्ने, तीनै सरकारका योजनाहरु बालबालिकाको हकहितमा हुनुपर्ने माग गरे ।

ध्यानाकर्षणपत्रमा हरेक गाउँ तथा नगरमा बालबालिकाको सहज पहुँचमा बाल सूचना केन्द्र, बाल पुस्तकालय, बाल उद्यान एवं खेल मैदान निर्माणलाई प्राथमिकता दिनुपर्ने, बालमैत्री स्थानीय शासन राष्ट्रिय कार्यविधि २०६८ ले व्यवस्था गरेका सूचकको प्राप्तिलाई प्राथमिकता दिनुपर्ने रहेको छ ।

त्यसैगरी, सम्पूर्ण संरचना बाल तथा अपांगमैत्री निर्माण गर्नुपर्ने, सबै निकायमा किशोरकिशोरीलाई गर्ने व्यवहार बालमैत्री हुनुपर्ने, अधिकार सम्पन्न राष्ट्रिय बालअधिकार आयोग गठन गर्नुपर्ने, बालबालिका मन्त्रालय यथावत् राख्नुपर्ने, बालबालिकाको जन्म, मृत्यु, विद्यालय भर्ना, परिवारविहीन, बसाइँसराइ आदिको दर्ता प्रणाली व्यवस्थित र अद्यावधिक गर्नुपर्ने र विद्यालयमा बालमैत्री शिक्षण विधि र वातावरण निर्माण गर्नुपर्ने उल्लेख छ ।