कृषि

आधुनिक कृषि प्रणालीमा जोड दिइने–मन्त्री गौतम

दमौली, तनहुँ । सिँचाइमन्त्री सञ्जय गौतमले कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि आधुनिक कृषि प्रणालीलाई लागु गरिने योजना अगाडि सारेको बताएका छन्।

दमौलीस्थित व्यास पराशरक्षेत्र नजिकै मादी र सेती नदीले कटान गरेको क्षेत्रको निरीक्षण गर्ने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका छन्।

मन्त्री गौतमले नेपालका ३५ जिल्लाका साढे सात हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याएर त्यहाँ हरियाली बनाउने लक्ष्य सरकारको रहेको उल्लेख गर्दै नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने र सुख्खा क्षेत्रमा सिँचाइ पु¥याई कृषिलाई आधुनिकीकरण गर्ने कार्यमा सरकार लागिपरेको बताए ।

तनहुँको व्यास पराशरक्षेत्र, वेलवास, परेवाडाँडालगायतका क्षेत्रमा मादी र सेती नदी नियन्त्रणका लागि रु १९ करोडको योजना वनाई अर्थ मन्त्रालयसँग बजेट माग्ने काम भइरहेको जानकारी दिदैं उनले वस्ती रहेका क्षेत्रमा नदी नियन्त्रण र सिँचाईका कार्यक्रम सँगसँगै लगिने बताए।

यसैबीच मन्त्री गौतमले नेपाली काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गौतमले कांग्रेस छिटो सत्ता हस्तान्तरण गरी प्रतिपक्षमा बस्न आतुर रहेको पनि बताए ।