मनोरञ्जन

किराती उद्गम थलोको प्रवर्धन गर्न गीति भिडियो

खोटाङ । किराती सभ्यताको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुमको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोही स्थानसँग सम्बन्धित गीति भिडियो निर्माण शुरु गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकास्थित किराती इतिहास, सभ्यता तथा सीपसँग जोडिएको रमणीय तुवाचुङलाई गीति भिडियोको माध्यमबाट संसारभर परिचित गराउने उद्देश्यका साथ सोही स्थानको परिचय झल्कने गीतको भिडियो निर्माण शुरु गरिएको हो ।

नेपालको प्रख्यात त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको उक्त रमणीय ऐतिहासिक पर्यटकीय थलोलाई विकास तथा प्रवर्धन गर्दै किराती सभ्यता र इतिहासको समेत जगेर्ना गर्न गीति भिडियो निर्माण गर्न थालिएको निर्माता जितेन राईले बताए ।

“किराती आदिम पुर्खाहरु तयामा, खियामा र खोक्चिलिपाको मिथकसँग सम्बन्ध राख्ने गीति भिडियो संग्रहित गर्न लागि परेका छौँ,” वरिष्ठ गायक तथा संगीतकारसमेत रहेका निर्माता राईले भने, “विश्वभर छरिएका किरातीहरुको पवित्र आस्था तथा गन्तव्यस्थल तुवाचुङ सेरोफेरोसँगै किराती जागरण झल्कने ‘जाउँ, जाउँ, जाउँ तुवाचुङ जाउँ…..’बोलको गीतमा भिडियो निर्माण गर्न शुरु गरिएको हो ।”

देशविदेशका किरातीको महाअभियानमा यही वर्ष तयामा, खियामा र खोक्चिलिपाको प्रतिमासमेत उक्त स्थानमा प्रतिस्थापना गरिएको छ । सो पवित्रस्थलमा सबै किराती तथा गैरकिराती कम्तीमा जीवनको एकपटक पुग्नैपर्छ भन्ने भाव बोकेको गीतलाई किरात राई यायोक्खा केन्द्रीय कार्य समितिका पूर्वअध्यक्ष सुमायाँ राईले लेखेकी हुन् ।

सुन्दर पहाडी तथा हिमाली शृङ्खलाको अवलोकन गर्न सकिने रमणीय डाँडाको वर्णन गरिएको सो गीतमा स्वयम् जितेन राईको संगीत तथा जितेन राई, सरला राई, जानुका राई र इशक राईको स्वर रहेको छ ।

भिडियोलाई तामझाम नबनाई सामान्य रुपमा किराती दस्ताबेजका रुपमा उतार्ने तय भएको निर्देशक रोशन राईले बताए । यो कार्य सबैको साझा दायित्वको भएकाले स्वयम्सेवी रुपमै भिडियो निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । हङकङ निवासी समाजसेवी मणि चाम्लिङको छायाङ्कनमा गीति भिडियो निर्माण हुनेछ ।